बन्द हड्ताल अशोभनिय काम भन्दै आलोचना

खोजवाणी संवाददाता
जनकपुर, भदौँ ३१

चिकित्सकहरु देशव्यापीरुपमा निजी तथा सरकारी अस्पतालको स्वास्थ्य सेवा ठप्प गर्ने गरी आन्दोलनमा उत्रेका छन् ।

हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपीट गर्ने दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गर्दै स्वास्थ्य सेवा ठप्प गरेका हुन् ।

संघले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने जनाएको छ ।

चिकित्सहरु नै स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिदाँ ग्रामिण भेगबाट आएका विरामी सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ ।

सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भदाँै २७ गते बिरामीको विषयलाई लिएर आक्रमण गरिएको संघले जनाएको छ । चिकित्सकद्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई तत्काल कारवाही नगगरेको भन्दै कारवाहीका लागि ७२ घण्टे अल्टिमेटमसमेत दिएको थियो ।

संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।

May be an image of 12 people and hospital

प्रसुतीदेखि अन्य विभिन्न स्वास्थ्यमा समस्या तथा रोग भएकाहरु सेवा लिनका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुग्न थालेका छन् ।

तर ओपिडीलगायतका स्वास्थ्य सेवा ठप्प रहेको जानकारी गराउँदै अस्पतालले सेवाग्राहीलाई फर्काउने गरेका छन् । चिकित्सकहरु नै आन्दोलनमा उत्रेर उपचार सेवा नै ठप्प पार्नु सेवाप्रतिको बेइमानी रहेको उपचार गराउन आएका सेवाग्राही जयशंकर यादवले भने । उनले उपचार जस्तो क्षेत्रमा चिकित्सहरु नै अराजक बन्न शोभनीय नभएको टिप्पणी समेत गरे ।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।