
खोजवाणी संवाददाता
जनकपुर, भदौँ ३१
नेपाली काँग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधिले निर्वाचनमा कुनै एक दललाई जनताले बहुमत नदिँदा गठबन्धनको सरकार बनाउनु परेको बताएका छन् ।
आइतबार जनकपुरधाम स्थित काँग्रेस धनुषाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्वगृहमन्त्रीसमेत रहेका नेता निधिले आम निर्वाचनमा कुनै एक पार्टीलाई बहुमत नमिल्दा गठबन्धनको सरकार बनेको बताएका हुन् ।
उनले मुलुकमा राजनीतिक स्थिरताका लागि कुनै एक दललाई आमनिर्वाचनमा बहुमत आएको भए अहिले विभिन्न स्वार्थ समुह बीचको गठबन्धनले केही असन्तुष्टिसँगै असहजता देखिएको बताए ।
नेता निधिले भने, ‘गठबन्धनको सरकार भएपछि सबै दलको आ–आफ्नो स्वार्थ र दलभित्रपनि सबै नेताको आ–आफ्नो इच्छा आकांक्षाका कारण गठबन्धन भित्र असन्तुष्टिसहित असजता देखापर्नु स्वाभाविक रहेको नै हो ।’
उनले मुलुकमा राजनीतिक स्थिरताका लागि अध्ययनको आवश्यकता रहेको समेत बताए ।
उनले भने, ‘यसका लागि राजनीतिज्ञ, विश्लेषक र विद्वानलगायतकाहरुले राजनीतिको नाममा गलत कुराले प्रश्रय पाएको भन्दै यसका लागि अहिले देखि नै गम्भीर्यतापुर्वक लागेमा आउने निर्वाचनमा कुनै एक दलको बहुमत आएमा पाँच वर्षको कार्यकालको सरकार सञ्चालन भएमा मात्रै नेपाली राजनीतिले स्थिरता पाउनसक्ने छ ।’
अहिले गठबन्धनको सरकारका कारण पाँच वर्ष भित्रमा पालैपालो सरकार बन्ने नाममा मुलुकमा राजनीतिक स्थिरता नहुँदा विभिन्न खाले कठिनाइ, समस्या र मुलुकले आर्थिक भारसमेत थेग्दै आउनु परेको उनले बताए ।
उनले गठबन्धनको सरकार भएपछि पाँच वर्षसम्म स्थिररुपमा सञ्चालन हुनु पर्नेमा पालै पालो सरकार बन्ने खेलमा लागेपछि राजनीति स्थिरता नहुने बताए ।
अहिले गठबन्धनको सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको भन्दै उनले अब यसपछि माधव नेपालले गर्ने र फेरी त्यसपछि काँग्रेस नेतृत्वको सरकार हुने भन्ने गठबन्धनमा सहमती भएको भन्ने कुराहरु सुनेकाले यस्ता खाले कुराले जनताका समस्या समाधान नहुने उनको भनाइ छ ।
उनले मधेश प्रदेशको अर्थतन्त्र निकै दयनिय रहेको भन्दै उनले मधेश प्रदेश सरकारले योजना बनाएर अघि बढ्न सुझाव समेत दिए ।
नेता निधिले मधेशमा अर्थतन्त्र निकै खस्किएकाले यस तर्फ मधेश प्रदेश सरकारले अहिलेदेखि नै अर्थतन्त्रलाई कसरी बलियो बनाउने र यसका लागि कार्ययोजना बनाई काम गर्न सुझाव दिए ।
अहिले मधेश प्रदेश स्थित नेपाल–भारत सिमानाका तर्फ आमजनजिवन कष्टप्रदरुपमा वितिरहेको बताउँदै उनले सिमावर्ती क्षेत्रमा दैनिक उपभोग्यलाई आफ्नो जिवनयापन गरिरहेका आमजनको समस्या बढेकाले यस तर्फ सरकारले ध्यान दिई खुकुलो गर्न आग्रह गरे ।
नेता निधिले यही असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आउने कार्यक्रम रहेको भन्दै असोज २ गते मंगलबार सर्वदलीय तथा सर्वपक्षीय बैठक हुने बताए ।
उनले राष्ट्रपति पौडेलले जनकपुरधाममा आउँदा जानकी मन्दिर दर्शन, पूजापाठ पश्चात नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको बताए ।