
खोजवाणी संवाददाता
जनकपुर, भदौँ ३१
तराई मधेश लोकतान्त्रिक पार्टीले यही असोज ३ गतेको दिनलाई कालो दिनको रुपमा मनाउने भएको छ ।
जनकपुरधाम स्थित तमलोपाको केन्द्रिय कार्यालयमा बसेको बैठकबाट असोज ३ गते मधेश र मधेशीलगायतकाहरुका लागि कालो दिन रहेकाले यस दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले जनाएको छन् ।
असोज ३ गते कालो दिन मनाउने भएकाले बुधबार विहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा राख्ने र बेलुकी जनकपुरधाम स्थित भानु जनक चोकमा सार्वजनिकरुपमा विरोध कार्यक्रम गरी असोज ३ कालो दिन मनाउने निर्णय गरेको उनले बताए ।
उनले आम समुदायलाई यस कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरेका छन् ।
०७२ साल असोज ३ गते त्रुटीपुर्ण संविधान जारी भइरहँदा तराई मधेशलगायतका क्षेत्रमा अधिकार प्राप्ति आन्दोलनमा प्रहरीले बलप्रयोग गर्दै निहत्था आन्दोलनकारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो । सोदिनलाई स्मरण गर्दै मधेशमा हरेक वर्ष कालो दिनकोरुपमा मधेश केन्द्रित दलले लिँदै आएको छ ।