खोजवाणी संवाददाता
सर्लाही, असोज ५

सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

बिहीबार राति जिल्ला प्रशासन कार्यालय सर्लाहीले अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि मलंगवामा निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सूचना जारी गर्दै मलंगवामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम पूर्वमा झिम नदी, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र, उत्तरमा प्रहरी पोस्ट र बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको जनाएका छन् ।

जारी सूचनामा यस क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको उल्लेख गरिएको छ ।

सूचनामा कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही गर्न सक्ने चेतावनी दिएको छ ।

बिहीबार राती एक समूहले मूर्ति सेलाउने क्रममा भएको विवादपछि केही स्थानमा तोडफोड तथा आगजनी गरेलगत्तै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेशपछि मलंगवाको जनजिवन प्रभावित बनेको छ ।

sarlahi