खोजवाणी संवाददाता
जनकपुर, असोज ५
सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा राहत शिक्षकहरुले असन्तुष्टि जनाउँदै विरोध गरेका छन् ।
गृह मन्त्रालयमा सरकार र महासंघबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै नेपाल राहत शिक्षक संघले बैठक नै बहिष्कार गरेका हुन् ।
नेपाल राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शुक्रबार भएको सहमतिमा आफूहरुको असहमति रहेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको भन्दै आक्रोश पोखेका हुन् ।
४५ हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने आफूहरुको माग रहेको उनले बताए । अब कसरी अघि बढ्ने भन्नेबारे छिट्टै नै निर्णय लिई अघि बढ्ने उनले बताए ।
त्यस्तै राहत शिक्षक संघका महासचिव कुमार बजगाईँले नेपाल शिक्षक महासंघबाट अलग हुने निर्णय भएको बताए । उनले माइतीघर मण्डलामा ४० हजार राहत शिक्षक संयुक्त रुपमा राजीनामा दिएर आन्दोलन गर्नेसमेत चेतावनी दिए ।
यता सहमतिपछि शिक्षक महासंघले सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।
सहमतिपछि सञ्चारमन्त्री रेखा शर्माले सहमति भएअनुसार शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने बताइन् ।
यस्ता छ सहमति
सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतमा सहमति जुटेको छ ।
त्यस्तै शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने सहमति पनि भएको छ ।
त्यस्तै माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाकाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको हुने व्यवस्था गर्ने, प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने, शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउनेलगायतका विषयमा पनि सहमति भएको छ ।
विभिन्न १८ बुँदे माग राख्दै शिक्षक महासंघको अगुवाइमा असोज ३ देखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानीमा आन्दोलन थालेका थिए ।
