खोजवाणी संवाददाता
काठमाण्डौ, असोज ६

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा भएको सम्पूर्ण परिवर्तन महान् जनयुद्ध र क्रान्तिकारी कम्युनिस्ट पार्टीका कारण नै सम्भव भएको बताएका छन् ।

उनले अब हुने परिवर्तन पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमै सम्भव हुने बताए ।

खेम थपिलयाको ‘कम्युनिस्ट पार्टी सङ्गठन’ पुस्तक लोकार्पण गर्दै अध्यक्ष किरणले कम्युनिस्ट पार्टी र सङ्गठनहरू धेरै भए भनेर कोही पनि आत्तिनु नपर्ने, दर्शन, सिद्धान्त, विचार र राजनीति मिल्ने क्रान्तिकारी कम्युनिस्टहरूबीच एकता र ध्रुवीकरण भएर क्रान्तिका कार्यभार पूरा गर्ने विश्वास पनि व्यक्त गरे ।

उनले जनयुद्धबाट अपेक्षा गरिएको गुणात्मक परिवर्तन हुन नसकेकोले अब क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुने क्रान्तिले पूरा गर्ने बताए ।

अध्यक्ष किरणले क्रान्ति र परिवर्तनमा जनसङ्गठनहरूको महत्व दर्साउँदै उनले गौतम बुद्धको ‘सङ्गम शरणम् गच्छामी’ देखि मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका पार्टी सङ्गठन निर्माण र परिचालन सम्बन्धी उदाहरणहरू पनि प्रस्तुत गरे ।

अध्यक्ष किरणले भने, ‘रूपान्तरण गर्नु सङ्गठनको काम हो । माओले पनि क्रान्तिका तीन जादुगरी हतियारको चर्चा गर्दा सङ्गठनलाई जोड दिनुभएको छ । कम्युनिस्ट पार्टी र सङ्गठन धेरै भए भनेर चिन्ता गर्नु आवश्यक छैन । सच्चा कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्ने हो ।’

क्रान्ति गर्ने र चुनाव गर्ने पार्टी एकताका दुई लक्ष्य हुने प्रस्ट पार्दै उनले क्रान्ति पनि नगर्ने, चुनावमा पनि नजाने भए जति पार्टी बनाए पनि कुनै अर्थ नहुने बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी क्रान्ति सम्पन्न गर्न निर्माण भएकाले रूपान्तरित हुन नसकेकाहरू रूपान्तरित भएर यसमा गोलबन्द हुनलाई समेत अध्यक्ष किरणले आह्वान गरे । संसदीय व्यवस्थाले नेपाली जनतालाई निराश, गरिब बनाएको र जनताका विचार र भावनालाई कुल्चिएकाले यसलाई उखेलेर फाल्नुपर्ने उनले बताए ।

उनले संसद्वादी कांग्रेस, एमाले, माओवादी केन्द्रहरू मिलेर एउटै पार्टी बनाएपनि फरक नपर्ने उनको भनाइ छ । उनले एमाले, माकेलगायत संसद्वादी पार्टीहरूमा रहेका क्रान्तिकारीहरू पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुने बताए । कोही पनि निराश बन्नु नहुने र क्रान्ति सम्पन्न हुने कुरामा सबै आशावादी, साहसी र निर्भीक भएर अघि बढ्नुपर्ने उनले बताए ।

त्यस्तै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्टहरू सिद्धान्त, विचार र आदर्शबाट च्यूतहुँदै गएको स्वीकार गरिन् । उनले कम्युनिस्ट पार्टीभित्र जवस, मोर्चा र सङ्गठनहरू अत्यावश्यक रहेकोमा जोड दिँदै शाक्यले वैकल्पिक नेतृत्वमा युवाहरूलाई ल्याउनुपर्ने धारणा व्यक्त गरिन् ।

पुस्तकका लेखक थपलियाले कम्युनिस्ट पार्टीमा नयाँविधि र पद्धति खोज्नुपर्ने र जवस–मोर्चा राख्नु नहुने बताए । स्वाभिमान प्रकाशन गृह प्रालिका सञ्चालक भीम चापागाईंले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीकी नेतृ अम्बिका चन्दले गरेकी थिइन् ।