एजेन्सी, असोज ६
सर्वाधिक प्रतिभाशाली अभिनेतृ सई पल्लवीले गोप्य रूपमा विवाह गरेको भन्ने खबर सोसल मिडियामा सार्वजनिक भएपछि उनी अहिले निकै तनावमा छिन् । तमिल फिल्म निर्माता राजकुमार पेरियासामीसँग भाइरल भएको अभिनेतृ सई पल्लवीको तस्बिरमा दुवैले माला र टिका लगाएको छ । तर उनीहरुले विवाह गरेको भन्ने खबरमा कुनै सत्यता छैन ।
अभिनेतृ सई र निर्देशक राजकुमार पेरियासामीले विवाह गरेका होइनन् । उक्त तस्बिर अभिनेतृ सईको नयाँ फिल्मको मुहूर्त समारोहको थियो । तत्काल एसके २१ नामक फिल्मको सुटिंग सुरु भएको छ । पछि फिल्मको नाम परिवर्तन पनि हुनसक्ने जनाइएको छ ।
राजकुमारले यो फोटो ९ मे २०२३ मा सई पल्लवीको जन्मदिनको अवसरमा ट्विट गरेका थिए ।
यही फोटोलाई केही प्रयोगकर्ताले क्रप गरेर यी दुईले विवाह गरेको भनि हल्ला फैलाइएको थियो । भाइरल भइरहेको तस्बिरमा हालसम्म चुप लागेर बसेकी अभिनेतृ सई पल्लवीले पनि प्रतिक्रिया दिएकी छिन् । उनले अफवाह रहेको भन्दै यस्ता खाले गलत खबर नफैलाउन आग्रह समेत गरिन् ।
अभिनेतृ सईले आफ्नो एक्स (ट्विटर) ह्यान्डलमा यसबारे लेखेकी छिन्, ‘इमानदारीपूर्वक भन्ने हो भने मलाई अफवाहको कुनै वास्ता लाग्दैन तर जब यसमा परिवारका सदस्य, साथीको कुरा आउँछ तब मैले बोल्नै पर्छ । मेरो फिल्मको पूजा समारोहको एउटा फोटोलाई जानीजानी काँटछाँट गरियो र गलत उद्देश्यसहित भाइरल गरियो । म आफ्नो कामसँग सम्बन्धित सबै जानकारी आफैँ साझा गर्छु त्यसैले यी सबै बेकारका कामका लागि स्पष्टीकरण दिनु निराशाजनक हुन्छ । यसरी कसैलाई समस्यामा पार्नु पूर्ण रूपमा घृणित कार्य हो ।’