
खोजवाणी संवाददाता
जनकपुर, असोज ७
विगत केही दिनदेखि सर्लाहीको मलंगवा नगरपालिकामा दई समुदाय बीच भएको विवादले निम्तिएको द्वन्द्वका कारण आमसञ्चार प्राधिकरण मधेस प्रदेशले चासो लिएको छ ।
मलंगवामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वका कारण सिर्जित प्रतिकूल अवस्थाप्रति मधेस प्रदेशको आमसञ्चार प्राधिकरणले चिन्ता व्यक्त गरेको हो ।
दुई साता अघि कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा सुरु भएको विवाद साम्यपछि पनि गत शुक्रबार साँझ गणेश चतुर्थीको मूर्ति सेलाउने क्रममा झडप हुँदा घटनाले उग्र रूप लिएको छ । जसका कारण गत शुक्रबारदेखि नै मलंगवामा स्थानीय प्रशासनले अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको छ ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै द्वन्द्वरत दुवै पक्षलाई संयमित हुनसमेत आग्रह गरेका छन् ।
सामाजिक एकता र सद्भावको पक्षमा उभिनका लागि अध्यक्ष यादवले मलंगवासीलाई अपिलसमेत गरेका छन् । केही दिनदेखि अशान्त एवम् निरन्तर कर्फ्यु जारी रहेको हुँदा यस्तो अवस्थालाई सहज बनाउनका लागि सम्बद्ध सबै पक्षमा आ–आफ्नो तवरबाट गम्भीर बन्न उनले आग्रह गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा, ‘विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एक अर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुता सहित सामाजिक सद्भाव र एकताको पक्षमा रहँदै आएका छौँ । संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेकोले एक अर्काको धार्मिक गतिविधिमा अवरोध वा खलल पार्ने कार्य कोही कसैबाट हुनु हुँदैन । जस्तोसुकै समस्या, विमति र चुनौतीहरू वार्ता संवाद, सहमति, र सहकार्यबाट गर्न सकिने भएकोले यसतर्फ गम्भीर बन्न सम्बद्ध पक्षसँग आग्रह छ,’ उल्लेख छ ।
मलंगवामा उत्पन्न द्वन्द्व र त्यसबाट सिर्जित घटनाहरूबारे फेसबुक, पेज, युट्युब, टिकटक, इन्टाग्राम लगायतका केही सामाजिक सञ्जालमा अतिरञ्जित, उत्तेजक, घृणा, द्वेष तथा द्वन्द्वलाई प्रोत्साहित गर्ने खालका भड्काउपूर्ण पोष्ट र सन्देशहरू प्रवाह भइरहेकाले यस्ता कार्य नगर्न तथा नगराउन समेत अध्यक्ष यादवले आग्रह गरेका छन् ।