
खोजवाणी संवाददाता
जनकपुर, असोज ७
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको केही स्थानमा सम्प्रादायिक घटनाका कारणले अवस्था झनै बिग्रिँदै गएकाले सरकारले नयाँ ढंगले निर्णय लिन लागेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सर्लाही, पर्सालगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेकाले प्रशासनिक निर्णय लिई अघि बढ्ने बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले भने, ‘सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सहभागितामा बैठक बसेको र त्यसमाथि सरकारले गम्भीरतापूर्वक लिइरहेको गृहमन्त्रीको भनाइ थियो । ’प्रशासनिक रूपमा निर्णय गर्न पनि गम्भीर छौं । यी घटनाहरुबारे गम्भीर छौं, दृढ भएर जान्छौं ।’
सुरुमा प्रशासनिक निर्णय गर्दा समस्या हुन्छ भन्ने केही समस्या रहेपनि अब भने प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको उनले स्पष्ट पारे ।
उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पु¥याउने र खलल पार्ने कार्य भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर रहेको बताए ।
कोशी प्रदेशमा पनि सुरक्षा संवेदनशीलता रहेको उनको भनाइ थियो ।
यसअघि राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पनि मधेस प्रदेशलगायतमा साम्प्रदायिक सद्भावमा खलल पारेर सुरक्षा चुनौती थप्ने कार्य भइरहेको बताएका थिए ।
यस समितिको बैठकमा एमालेका रघुजी पन्त, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सर्वेन्द्रनाथ शुक्लले मधेस प्रदेशमा साम्प्रदायिक घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।