खोजवाणी संवाददाता
जनकपुर, असोज ७
महोत्तरीमा बैंकबाट ६ लाख रुपैयाँ भन्दा बढी रकम निकालेर घर फर्किने क्रममा एक दम्पतीलाई लुटिएका छन् ।
आज दिउँसो करिब ४ बजे तर्फ गौशाला नगरपालिका वडा नम्बर ११ स्थित भरतपुरका शम्भु महतो र उनकी धर्मपत्नी बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अपरिचित व्यक्तिले झुक्याएर लुटपाट गरेको हो ।
जिल्लाको गौशालामा रहेको एनआइसी एसिया बैंकमा महतोलाई ओखलढुंगामा रहेका ज्वाइँले पठाएको रकम झिकेर घर फर्किने क्रममा उनीहरुलाई मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले बैंकको कर्मचारी हुँ भन्दै झुक्याएर लुटपाट गरेको छ ।
मोटरसाइकलमा सवार रहेका अपरिचित युवकले रकम लुटेर फरार भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक दीलिपकुमार गिरीले जनाए ।
महोत्तरीका प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक गिरीले रकम श्रीमतीको झोलामा थियो भने लुटेराले उनलाई मोटरसाइकलबाट ओराल्दैँ झोला लिएर भागेको जानकारी प्राप्त भएको बताए ।
उनले लुटेरा सवार रहेको मोटरसाइकल नम्बर पहिचान भइसकेको छ भने पैसा लुटेर फरार भएकाहरुको खोजी भइरहेको बताए ।