महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्र उद्घाटन गर्ने
जानकी मन्दिरमा दर्शन तथा पुजाअर्चना, नागरिक अभिनन्दन

खोजवाणी संवाददाता
जनकपुर, असोज ७

राष्ट्रपति रामचन्द्र पौडेल महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको उद्घाटन गर्न सोमबार जनकपुरधाममा आउने भएको छ ।

जनकपुरधामको तिरहुतिया गाछी स्थित वर्षौ अघि निर्माण भएको महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको उद्घाटन गर्न राष्ट्रपति पौडेल आउन लागेको हो ।

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणलाई सफल बनाउनका लागि नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंंगाना, रामकृष्ण यादव, जनकपुरधाम उपमहानगरपालिकालगायतकाहरु केही दिनदेखि आन्तरिक तयारीमा जोडतोडले लागिपरेका छन् ।

स्थानीय काँग्रेस तथा पुर्वगृहमन्त्रीसमेत रहेका नेता निधिको निकै महत्वकांक्षी योजना साकार पार्नका लागि तिरहुतिया गाछी अतिक्रमण गरी मिथिलाको सँस्कृति तथा जनक एवं जानकीको संग्राहलयसमेतको परिकल्पना गरिएको यस मिथिला सँस्कृति केन्द्रमा लामो समयदेखि प्रहरीले कब्जा जमाएर बसेको र ठेकेदारको ढिलासुस्तीका कारण निर्माण कार्य नै अन्योलमा परेको थियो ।

तर २३ वर्ष पछि बल्लतल्ल निर्माण भएको महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रमा बस्दै आएका प्रहरीले ब्यारेक समेत आफ्नो ब्यारेक हटाएपछि मिथिला सँस्कृति केन्द्रको स्थापना साकार भएको छ ।

सबै अन्योलतालाई तोड्दै औपचारिकरुपमा मिथिला सँस्कृति केन्द्रको एक भव्य समारोह बीच राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।

इता अहिले जनकपुरधाम उपमहानगरपालिकासमेत राष्ट्रपति पौडेलको स्वागतका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले उनलाई नागरिक अभिनन्दन समेत गर्ने भएको छ । भने राष्ट्रपति पौडेलले सोमबार विहान जानकी मन्दिरमा दर्शन, पुजाअर्चनासमेत गर्ने निर्धारित कार्यक्रम रहेको छ । त्यसपछि उनी मिथिला सँस्कृति केन्द्रको उद्घाटन तथा सोही ठाउँमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यस मिथिला सँस्कृति केन्द्रमा ५ सय ४० दर्शकदिर्घासहित करिब ६ सय सिट क्षमताको सभाहल छ ।

मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा सार्वजनिक मञ्च नहुँदा ठुला सेमिनार तथा समारोहहरु अन्यत्रै गर्नुपर्ने राजनीतिक दललगायतकाहरुको समेत बाध्यता रहदैँ आएपनि अब भने नरहने नेपाली काँग्रेस धनुषाका सहसचिव विजयकुमार यादवले बताए ।