मिथुन साह
जनकपुर, असोज ७
सर्लाही सदरमुकाम मलंगवा चार दिनदेखि अशान्त रहेको छ । यी चारै दिन मलंगवामा लगाइएको कफ्र्यु तोड्नका लागि विभिन्न पक्षहरु सक्रियता बढाउँदै गएपछि स्थानीय प्रहरी प्रशासनलाई अवस्थालाई नियन्त्रणमा लिनका लागि हम्मेहमे परेको छ ।
मुर्ती विसर्जनको क्रममा दुई समुदाय बीच भएको विवादले उग्ररुप लिएपछि स्थानीय प्रशासनले चार दिनदेखि कफ्र्यु लगाएको कारण मलंगवा नगरपालिकाको अवस्था साम्य हुनुपर्नेमा झनै विग्रिदै गएको हो ।
चार दिनदेखि सुनसान रहेपनि शनिबार कफ्र्युको आदेशको उल्लंघन गर्दै प्रदर्शन गरिएको थियो । सो क्रममा शनिबारपनि अवस्थालाई नियन्त्रणमा लिनका लागि आधा दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरिएको थियो । भने आज पनि दर्जनौँ राउण्ड अश्रुग्यास प्रहरीले प्रहार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले कफ्र्यु लगाइएको भएतापनि अवस्था भने सामान्य हुन सकेको छैन ।
वितेको शुक्रबार असोज ४ गते गणेश चतुर्थी तथा विश्वकर्मा पूजाको मूर्ती विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । त्यसपछि बिग्रिएको मलंगवाको स्थिति भने झनै विग्रिदैँ गएको छ । जसकारण मलंगवाको अवस्था प्रहरी प्रशासनको नियन्त्रणभन्दा बाहिर रहेको स्थानीयहरुले बताएका छन् ।
मलंगवामा कफ्र्यु लगाइएपनि हरेक दिन उल्लंघन गर्दै प्रदर्शनहरु भइरहेका छन् भने दुई समुदाय बीचको सद्भाव कायम हुनुको साटो झनै तनावपूर्ण अवस्थामा परिणत भइरहेको स्थानीयवासीको भनाइ छ ।
गत भदौँमा कृष्ण जन्माष्टमीको मूर्ती सेलाउने क्रममा भएको ढुंगामुढा प्रहारको क्रममा रहेको दोषीलाई स्थानीय प्रशासनले संरक्षण गरेको भन्दै विश्वकर्मा पूजा र गणेश चतुर्थीको मूर्ती विसर्जनको क्रममा पुनः दुव्र्यवहारसहित भएको झडपको स्थिति सिर्जना भएको स्थानीय मुकेश झा बताउँछन् ।
मलंगवाको स्थिति दिनानुदिन स्थानीय प्रहरी प्रशासन भन्दा बाहिर गएपछि तनाव बढ्दै गइरहेको छ । जसको कारण आज पनि प्रहरीले करिब ३२ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ । मलंग्वा बजार क्षेत्रमा कर्फ्युका बीच पनि प्रदर्शन गर्न थालेपछि प्रहरीले कफ्र्यु आदेश उल्लंघ गर्ने प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा ३२ राउण्ड अश्रुग्यास प्रहार गरेको हो ।
गत ४ गतेदेखि लगाइएको कफ्र्यु तोड्नेहरुमध्ये स्थानीय प्रहरीले २० जनालाई पक्राउ गरिसकेको सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपेन्द्र पँजियारले जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सबै पक्षसंग संयमता अपनाउन आग्रह गर्दै आएको छ ।
कफ्र्यु आदेश जारी गरिएपछि मलंगवा बजारको स्थितिलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल ६०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।