खोजवाणी संवाददाता
जनकपुर, असोज ८
सर्लाहीको मलंगवा नगरपालिकामा मूर्ती सेलाउने क्रममा दुई समुदायबीच भएको झडपपछि प्रशासनले लगाएको कर्फ्यूको समय अवधि चार दिनपछि घटाउँदै लगेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज बसेको बैठकबाट मलंगवा नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यूको समय घटाउँदै लगेको हो । अबदेखि आज राति ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र कर्फ्यू रहने जनाइएको छ ।
अर्को आदेश÷व्यवस्था नहुञ्जेलसम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवले जनाएका छन् ।
दिनको समयमा कर्फ्यू आदेशलाई खुकुलो गरिएपनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई भने मध्यनजर गर्दै मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चालगायतका प्रचारप्रसार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको जनाइएको छ ।
सामाजिक सञ्जालमा सामाजिक सद्भाव खलल पार्ने, हल्ला तथा अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइबर अपराध गरेको अभियोगमा कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
असोज ४ गते मूर्ती सेलाउने क्रममा दुई समुदाय बीच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो । झडपको क्रममा एक युवकमाथि छुरा प्रहार गरिएको थियो । भने तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थितिलाई नियन्त्रणमा लिनका स्थानीय प्रशासनले करिब पाँच दिनसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।


