
खोजवाणी संवाददाता
बारा, असोज ९
बारामा एक सशस्त्र प्रहरीका पुर्व जवानको हत्या भएको छ ।
बाराको पचरौता नगरपालिका वडा नम्बर १ स्थित नेपाल–भारत सिमानाकामा पर्ने दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको हो ।
पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यरातमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षिय अमरेशकुमार सिंहको शव फेला परेको बारा प्रहरीले जनाएको छ ।
आइतबार स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । यस घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा गई शव बरामद गरी परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाएका छन् ।
सशस्त्र प्रहरी जवानको जागिर छोडेपछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गर्दै आएका थिए ।
बारा प्रहरीका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको बताए ।
मृतक सिंहले केही महिनाअघि मात्रै जागिर छोडेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको भन्दै उनले घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको बताए ।