एजेन्सी, असोज १०
उत्तरी इराकको एक विवाह समारोहमा आगलागी भएको छ । सो आगलागीको कारणले गर्दा करिब १ सय जनाको मृत्यु भएको छ । भने १५० जनाभन्दा घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । स्थानीय मिडियाले जनाएअनुसार दुलहा र दुलहीसमेत घटनामा पीडित छन् ।
निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको हो । आगलागी भएको बारे अहिलेसम्मपनि यकिन हुन सकेको छैन । तथापि प्रारम्भिक रिपोर्टमा आतिशबाजी पछि आगलागी सुरु भएको जनाइएको छ ।
इराकी समाचार एजेन्सी निनाले जनाएअनुसार दर्जनौँ अग्नि नियन्त्रकहरू आगलागी नियन्त्रणमा खटिएको तस्बिर सार्वजनिक गरेको छ । भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको छ भने भवनको छत खसेको आशङ्का पनि गरिएको छ ।
प्रत्यक्षदर्शीले जनाएअनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो ।