खोजवाणी संवाददाता
काठमाण्डौ, असोज १०

१९औं एसियाली खेलकुदमा नेपालले मंगोलियाालाई पराजित गर्दै विभिन्न कीर्तिमान बनाउन सफल भएको छ ।

चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाउँदै ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गरेको छ ।

यसक्रममा नेपालले टी–२० आई क्रिकेटमा ७ वटा रेकर्डसमेत बनाउन सफल भएको हो ।

नेपालले २० ओभरमा तीन विकेट गुमाउँदै ३१४ रन बनाउन सफल भयो भने यस टी–२० आईमा अहिलेसम्म नै ठूलो स्कोर हो ।

यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८÷३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८÷४ बनाउन सफल भएको थियो ।

त्यस्तै नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाउन सफल भएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ छ भने २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८÷३ बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो ।

त्यस्तै बुधबार नेपालको नाममा अर्को रेकर्ड पनि कायम भयो । त्यो हो सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा २६ छक्का हानेका थिए । जुन अहिलेसम्मकै नयाँ कीर्तिमान हो ।

यसअघि रिपब्लिकको नाममा रेकर्ड थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हान्न सफल भएको थियो ।

मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुशल मल्लले विश्व कीर्तिमान नै बनाउन सफल रह्यो । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका छन् भने उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्डसमेत तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए ।

१३७ रनमा अविजित रहेका उनी टी–२० आईमा एक इनिङमै सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परेको छ । पहिलो नम्बरमा एरोन फिन्च रहेका छन् । उनले १७२ रन बनाएका छन् ।

यस खेलमा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् ।

मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी–२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान समेत बन्न सफल भएका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहले बनाएको थियो । सिंहले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।
त्यस्तै ऐरीको नाममा हाइएस्ट स्ट्राइक रेट बनाउनेमा पनि रेकर्ड दर्ज भयो । १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहेको छ ।

यसअघि वेष्ट इण्डिजका डवेन स्मिथको नाममा यो रेकर्ड रहेको थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ रहेको थियो ।

त्यस्तै नेपालले मंगोलियालाई २७३ रनले हराउन सफल भएको हो । टी–२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित रहेको छ । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराउन सफल रह्यो ।