खोजवाणी संवाददाता
काठमाण्डौ, असोज १०

संघीय सरकारमा रहेका एक मन्त्रीका छोराले सरकारी सवारीसाधन दुरुपयोग गर्दै गुडाएपछि दुर्घटना भएको छ ।

शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मदिरा सेवन गरी सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको हो । यो कुरा सामाजिक सञ्जालमा निकै भाइरलसमेत बनेको छ । राज्यमन्त्री प्रमीला कुमारी र उनको छोराको आलोचना निकै भइरहेको छ ।

३ दिनअघि काठमाण्डौ महानगरको दक्षिणकाली नगरपालिका वडा नम्बर २ मा सवारी दुर्घटना गराएका हुन् । राज्यमन्त्री प्रमीला कुमारीको पुत्र राहुल रायले मदिरा सेवन गरी चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहानै ४ बजे बल्खुतर्फ जाँदै गरेका रायले मन्त्रालयबाट जारी ‘हल्का सवारी चालक’को परिचयपत्र देखाएका छन् । उनले चलाएको स्कोर्पियोको ठक्करबाट चार जना सामान्य घाइतेसमेत भएका छन् ।

राज्य मन्त्री पुत्र रायले मादक पदार्थ सेवन गरी सञ्चालन गरेपनि उनलाई भने मापसे गरेको कसुरमा कुनै कारबाही गरिएको छैन । दुर्घटना भएपछि विवादको क्रममा उनले आफुले ‘एपल साइडर’ पिएको रायले स्वीकारेका थिए ।

प्रहरी प्रभाग फर्पिङले १ रात उनको गाडी होल्डपनि गरेको थियो । अर्कोदिन दुवै पक्षले आ–आफ्नो सवारी साधन आफैँले बनाउने सहमति गराएर जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उनले यस कार्यालयमा यस सम्बन्धी कुनैपनि किसिमको जाहेरी नआएको समेत बताए ।