खोजवाणी संवाददाता
जनकपुर, असोज १०
सत्तारुढ जनता समाजवादी पार्टी नेपाल केही महिनादेखि आन्तरिक गतिविधिलाई तिव्रता दिँदै विभिन्न किसिमका कार्यकर्तामुखी अभिमुखिकरण कार्यक्रममा व्यस्त छन् ।
समाजवादी मोर्चाको एक घटक समेत रहेका जसपा नेपालले पार्टी संगठनलाई सुदृढिकरण गर्दै विभिन्न गतिविधिहरु गरिरहँदा पार्टी पुनर्गठन गर्नसम्मको योजना सार्वजनिक गरेको छ ।
कात्तिक महिनामै जसपा नेपालले नयाँ विधान अनुसार पुनर्गठन गर्ने गरी अभियान अगाडि बढाएको हो ।
असार दोस्रो साता सम्पन्न पार्टीको विधान अधिवेशनपछि जसपाले विधान अनुसार पार्टी पुनर्गठन गर्नका लागि तीन महिने अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएअनुसार हालसम्म पाँच वटा प्रदेश पुनर्गठन भइसकेको जानकारी दिए । हालसम्म कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश समितिलाई पुनर्गठन गरेको छ । भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेश समितिलाई पुनर्गठन गर्नका लागि छलफलहरू चलिरहेको छ ।
यस महिनाभित्र बाँकी दुईवटा प्रदेशमा पनि पुनर्गठन हुने उनको भनाइ छ ।
यसैबीच जसपाले पाँच वटा राष्ट्रिय समिति पनि पुनर्गठन गरेका छन् । प्रचारप्रसार विभागका प्रमुख बस्नेतले किराँत राष्ट्रिय समिति, तम्सालिङ राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, थरुहट राष्ट्रिय समिति र मगरात राष्ट्रिय समिति पुनर्गठन गरिएको बताए ।
त्यस्तै जिल्ला, पालिका तथा भातृ संगठनलगायत अन्य समितिहरूलाई पनि पुनर्गठन गर्ने गृहकार्य पनि थालिसकेको छ । कात्तिक मासन्तसम्ममा सबै समिति पुनर्गठन तथा गठन गरिसक्नुपर्ने निर्णय गरेको छ । तीन महिने अभियान समाप्तपछि महाधिवेशनको तयारीमा लाग्ने जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
उनले विधान अनुसार पार्टी पुनर्गठन भएपछि महाधिवेशनमा जाने तयारी भइरहेको बताए । छठपछि महाधिवेशन हुने भएकाले यसका लागि पार्टीभित्र तयारी भइरहेको उनको भनाइ छ ।
