‘मिसन ०८४ मा एमालेको सरकार’

खोजवाणी संवादता
जनकपुर, असोज ११

नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ मा संघदेखि प्रदेशसम्म एमालेकै सरकार रहने दावी गरेका छन् ।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका मधेश प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव भट्टराईले एमालेले ०८० को वर्षलाई संगठन निर्माणको वर्षको रुपमा लिएको र ०८४ मा एमालेको बहुमतको सरकार संघदेखि प्रदेशसम्म रहने दावी गरेका हुन् ।

उनले विगतमा जनताले प्रदेश सरकारको रवैया देखेको हुनाले मधेश प्रदेशमा पनि एमालेकै सरकार रहने बताए । उनले विगतमा नेकपा हुँदा संगठन तदर्थरुपमै चल्दै आएकाले हामीले यस वर्षलाई संगठन निर्माण गरी सक्रिय बनाएर जनतासमक्ष गएर सरकारको कामकाजको भण्डाफोर गर्दै देश र प्रदेश निर्माणका लागि एमाले अग्रसर हुने बताए ।

एमाले मधेश प्रदेश अधिवेशनको लोगो सार्वजनिक गर्दै उनले यस लोगोमा सांस्कृतिक एवं धार्मिक विविधताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तिव्र विकासको आवश्यकतालाई उजार गरेको बताए ।

No description available.

उनले सामाजिक न्यायका लागि सुशासनका लागि एमालेको कार्यभार मधेशको स्वाभिमान र समृद्धिको लागि एमालेको सरकारबाट नै सम्भव हुने बताए ।

पुर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले मधेशको आर्थिक र सामाजिक समृद्धिका लागि एमालेकै सरकार अनिवार्य रहेको बताएका हुन् ।
प्रदेश इन्चार्ज तथा सचिव भट्टराईले भने, ‘गएको पाँच वर्षमा कुनै पार्टीको मुख्यमन्त्री र यो एक वर्ष अर्कै पार्टीको मुख्यमन्त्रीले के कति जनताका लागि काम गरेको छ, विकासको काम गरेको छ, जनताको सुशासन र सामाजिक न्यायका लागि काम गरेको छ, हामीले देख्यौँ, त्यही भएर अब आउने निर्वाचनमा एमालेको सरकार निश्चित रहेको छ ।’

No description available.

एमालेको मधेश प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज २४ देखि २५ गतेसम्म दुई दिवसीय हुने जानकारी एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवले दिए ।

उनले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने प्रदेश अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।

यस प्रदेश अधिवेशनमा मधेश प्रदेशको ८ वटै जिल्लाबाट एक हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने छ भने महिला र युवालाई विशेष प्राथमिकता दिइने समेत उनले बताए ।

मधेश प्रदेशको तयारी तथा व्यवस्थापनका लागि चरणवद्धरुपमा कामहरु भइरहेको बताउँदै यसका लागि प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, समिति तथा विभिन्न उपसमितिहरुसमेत गठन गरिएको जनाइएको छ ।

एमाले मधेश प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मुल नारा रहने जनाइएको छ ।

यस नारा तथा लोगो सार्वजनिक कार्यक्रम एवं पत्रकार सम्मेलनमा पुर्वमन्त्रीसमेत रहेकी एमाले पोलिटव्युरो सदस्य जुली महतो, धनुषा इन्चार्जसमेत रहेका पुर्वमन्त्री लिलानाथ श्रेष्ठलगायतका नेताहरुले समेत नारा तथा लोगो सार्वजनिक गरेका थिए ।