खोजवाणी संवाददाता
जनकपुर, असोज १२
हिन्दुधर्मावलम्बीहरुको मातास्वरुप रहेको गाईको हत्या भइरहँदापनि सरकारले केही नगरेको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
मुलुकमा श्रृंखलावद्धरुपमा गाईको हत्या भइरहेको भन्दै यसप्रति जानकी मन्दिरले आफ्नो ध्यानार्षण भएको जनाउँदै शुक्रबार जनकपुरधाम उपमहानगरमा विरोध प्रदर्शन गरेका हुन् ।
जनकपुरधाम स्थित जानकी मन्दिरबाट सुरु भएको विरोध प्रदर्शनले नगरमासमेत प्रदर्शन गर्दै राम चोकमा विरोधसभा परिणत भई समापन भएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले श्रृंखलावद्धरुपमा गौहत्या भइरहँदा पनि राज्यले राष्ट्रिय जनावरसमेत रहेको हिन्दु धर्ममा गौलाई माता भनिएतापनि राज्यले बेवास्ता गरेको आरोप लगाए । उनले गौ हत्यारालाई अविलम्ब कारवाही गर्नसमेत माग गरे ।
उनले धरानदेखि खोटांगसम्म गौ हत्या हुँदा पनि सरकारले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै तत्काल आन्दोलन गर्ने चेतावनी दिए ।
यस क्रममा युवा अभियानी सुशिल कर्णले गाई मुलुकको राष्ट्रिय जनावर रहेकाले यो राष्ट्रियता सवाल रहेको बताए । उनले राष्ट्रियतामाथि आँच आउँदापनि सरकारले कानूनी अनुसार कारवाही गर्न नसक्नु दुःदख रहेको बताए ।
गाई नेपालको राष्ट्रिय जनावर रहेकाले कानुन अनुसार कारवाही हुनुपर्ने उनको भनाइ छ ।