खोजवाणी संवाददाता
सर्लाही, असोज १५
सर्लाहीमा पुर्णरुपमा कर्फ्यु हटाइएको छ । कफ्र्यु हटेपछि स्थानीयवासीहरु सहजरुपमा बजारमा किनमेल गरिएको देखिएका छन् भने घरबाट बाहिर निस्केर घुमफिर गर्न पाएकोमा उनीहरु खुसी छन् ।
दुई समुदाय बीच मुर्ति विसर्जन गर्ने क्रममा भएको विवादले उग्ररुप लिएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु लगाएको थियो । विस्तारै कर्फ्युलाई खुकुलो बनाउँदै लग्दै गएपछि आइतबारदेखि पुर्णरुपेण कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
गणेश पुजाको मूर्ति बिसर्जनको क्रममा मलंगवा नगरपालिकामा दुई समुदायबीच झडप भएको थियो । अवस्थता बिग्रेपछि स्थानीय प्रशासनले मलंगवा नगरमा कर्फ्यु लगाएको थियो । असोज ४ गते दुई समुदाय बीच घटना भएपछि तनावग्रस्त बनेको मलंगवामा क्रमिक रुपमा स्थिति सुधार आएपछि कर्फ्यु हटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । दुई समुदायबीचको स्थिति सहज बन्दै गएपछि जिल्ला सुरक्षा समितिले पूर्ण रुपमा कर्फ्यु खुल्ला गर्ने निर्णय गरिएअनुसार हटाइएको उनले बताए ।
स्थानीय राजनीतिक दल, नागरिक समाज र मानव अधिकारकर्मीहरुले सामाजिक सद्भाव कायम राख्नका लागि निरन्तररुपमा पहल गर्दै आएका छन् ।
यता सदरमुकाम मलंगवामा सामाजिक सद्भावलाई कायम राख्न र अबदेखि कुनैपनि किसिमले कुनैपनि बहानामा सामाजिक सद्भाव तथा भाइचारको सम्बन्धलाई बलियो बनाउनका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ यही आउँदो बिहीबार सद्भाव ¥यालीमा सहभागी हुने छन् ।
त्यस्तै सामाजिक सद्भाव भड्काउने र ढुंगामुढा गरी क्षति पु¥याउनेको पहिचान गरी कानुनी दायरामा ल्याउनका लागिसमेत निर्णय भएको उनले बताए ।
