खोजवाणी संवाददाता
काठमाण्डौ, असोज १६

सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रमोद भारतीलाई सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास तानिएको छ ।

सिरहा जिल्लामा पछिल्लो चार दिनदेखि ठूलो परिमाणमा अवैध कपडा बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक भारतीलाई बाहिनीमा तानिएका हुन् ।

सशस्त्र प्रहरी बल गण नम्बर ७ मा रहेका सिरहा स्थित सशस्त्र प्रहरीका उपरीक्षक भारतीलाइ अवैध सामान ओसारपसारबारे सोधखोज गर्न तानिएका छन् ।

सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी दिपेन्द्र शाहले आवश्यक सोधपुछ भइरहेकाले उनलाई तानिएको बताए ।

उनले सशस्त्र प्रहरी अधिकारी दोषी देखिएमा कारबाही हुनेसमेत बताए ।

अहिले गण नम्बर ७ मा प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापालाई पठाइएको उनले बताए । सशस्त्र प्रहरी उपरीक्षक भारतीसँगै अन्य केही सशस्त्र प्रहरी अधिकारीलाई पनि सिरहाबाट बाहिनीमा सोधपुछका लागि तानिएको उनले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल माडर सिरहामा रहेका प्रहरी नायक उपरीक्षक रामहरि खड्कालाई पनि बाहिनी तानेका छन् । सिरहामा दैनिकरुपमा अवैध कपडा बरामद हुने क्रम जारी नै छ ।