खोजवाणी संवाददाता
जनकपुर, असोज १७
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारलाई सहयोगका लागि समर्थन रहने बताउँदै उनले राम्रा कामका लागि दवाव पनि दिइने बताएका छन् ।
बुधबार जनकपुरधाममा समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई सहयोगसंगै दवाब पनि आवश्यकता रहेको बताएका हुन् ।
उनले अहिले धर्मको नाममा अतिवादीहरुले सामाजिक सद्भाव खल्बालाउने काम भइरहेको बताए । उनले भने, ‘अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् ।’
एकीकृत समाजवादी पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्नका लागि समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको आवश्यकता रहेको बताए ।
उनले मुलुकमा राजनीतिक क्रान्ति सफल भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको बताए । उनले समाजवादको मूल्य र मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमान्दारी साथ अघि बढ्नुपर्ने बताए ।
यही असोज १४ देखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ ।
समाजवादी अभियान असोज २९ गते कञ्चनपुरमा पुगेर समाप्त हुने जनाइएको छ ।
