खोजवाणी संवाददाता
जनकपुर, असोज १७

जनकपुरधाममा भड्काउ अभिव्यक्ति दिएको भन्द्र प्रहरीले सुनसरीमा धर्मगुरु निवासाचार्य महाराजलाई पक्राउ गरेपछि साधुसन्तहरुले उनको रिहाईको माग गर्दै आन्दोलन गर्ने भएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै रामानन्दिय बैष्णव संघले धर्मगुरु श्रीआचार्यलाई रिहाई गर्न माग गर्दै बिहीबार दिउँसो कडा आन्दोलन गर्ने जनाएका छन् ।

रामानन्दिय बैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले सनातन धर्मगुरु निवासाचार्यलाई रिहाई नगरेमा बिहीबार दिउँसो जनकपुरधाममा र्याली निकालेर पक्राउ गरेको विरुद्धमा प्रहरी प्रशासन विरुद्ध आन्दोलन गर्ने बताए ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले श्रीआचार्यले गौहत्या गर्नेहरुलाई चर्को अभिव्यक्ति दिँदै खुकुरी मात्र देखाएपनि कसैको हत्या नगरेकाले तत्काल रिहा गर्न माग गरे ।

असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्याली कार्यक्रममा बोल्दै धर्मगुरु श्रीआचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । सोही टिप्पणीहरु सामाजिक सञ्जालमा भाइरल भएपछि सोही आधारमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका धर्मगुरु निवासाचार्यलाई मंगलवार साँझ प्रहरीले सुनसरीबाट पक्राउ गरी आज उनलाई जनकपुरधाम ल्याउँदै छ । उनीमाथि थप मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

No description available.