
खोजवाणी संवाददाता
जनकपुर, असोज १७
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक जारी रहेको छ ।
मंगलबारदेखि सुरु भएको पदाधिकारी बैठक दोश्रो दिनपनि काठमाडौँमा जारी छ ।
लोसपाको पदाधिकारी बैठकमा संगठन निर्माण, समसामयिक राजनीतिक अवस्था लगायतको विषयमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको जनाइएको छ ।
लोसपा नेपालले लामो समयपछि अध्यक्ष महन्थ ठाकुरले कार्यसमितिलाई पुर्णता दिएपछि पहिलो पटक पदाधिकारी बैठक बसेको हो ।
यस बैठकमा अध्यक्षसहित ६४ जना पदाधिकारी सामेल छन् ।
पदाधिकारी बैठकमा मंगलबार २२ जनाले धारणा राखेका थिए । भने बैठकमा शीर्ष नेताहरुले पदाधिकारीसहितका नेताहरुलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या ठूलो बनाइएको र यसलाई महाधिवेशनमार्फत छोटो छरितो बनाउँदै थप व्यवस्थित बनाइने भन्ने कुरा समेत बैठकमा उठेको एक नेताले जानकारी दिए ।
यस बैठकमा महाधिवेशन अघि विधान अधिवेशन हुने, यस अधिवेशनबाट संगठनको संरचना निर्माण गर्ने र सोही अनुसार महाधिवेशनबाट समिति बनाइने लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए ।
पदाधिकारी बैठकमा नेताहरुले लोसपा कमजोर हुनुको कारणबारेमा समीक्षा हुनुपर्ने धारणासमेत राखेका छन् ।
आजको बसेको बैठकमा लोसपाका प्रवक्ता अभास लाभले पार्टीलाई नयाँढंगले गति दिनुपर्ने बताएका छन् ।