खोजवाणी संवाददाता
मोरङ, असोज १७

नेपाली काँग्रेस नेता बिमलेन्द्र निधिले कोशी प्रदेशमा मध्यावधि चुनाव नहुन दिनका लागि काँग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

बुधबार विराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै पुर्वगृहमन्त्री निधिले अहिले कोशी प्रदेशको प्रदेशसभामा बहुमत सिद्ध गर्न सक्ने काँग्रेसका कुनै प्रदेश साँसदको नेतृत्वमा सरकार बनाउने कि मध्यावधि चुनावमा जाने भन्ने दुई विकल्पमध्ये काँग्रेसका जुनसुकै साँसदको नेतृत्वमा सरकार बन्छ भने काँग्रेस तयार हुनुपर्ने बताएका हुन् ।

पुर्वमन्त्री निधिले भने, ‘कोशी प्रदेशमा काँग्रेस नेता उद्धव थापाको नेतृत्वमा दुईपटक सरकार गठन भएर पनि बहुमत सिद्ध गर्न नसकेर सर्वोच्च अदालतले पदमुक्त गरिदिएको अवस्था रहेकाले अहिले संविधानको धारा १६८ को उपधारा (५) अनुसार पुनः सरकार गठनका लागि भइरहेको प्रयासमा दलका नेताले पहल गर्नु स्वभाविक रहेपनि बहुमत सिद्ध गर्ने गरी सरकार बनाउन सकेनौँ भने मध्यावधि चुनाव निश्चित रहेको भुल्नु हुँदैन ।’

उनले अहिलेको अवस्थामा काँग्रेसका जुनसुकै प्रदेश साँसदको नेतृत्वमा सरकार बन्छ भने काँग्रेस खुल्ला हुनुपर्नेमा जोड दिए । उनले काँग्रेस बाधक बन्नु हुँदैन भनेर पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण समेत गराइसकिएको नेता निधिको भनाइ छ ।

नेता निधिले भने, ‘तत्कालीन एमाले नेता झलनाथ खनाल दलको नेता हुँदाहुँदै गिरिजाप्रसाद कोइरालाले माधवकुमार नेपालको नाम प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको घटनालाई अहिले स्मरण गर्नुपर्ने बेला हो ।’

अहिले सरकार मात्रै बनाउन नेता थापाको नेतृत्वमा पुनः प्रदेश सरकार बनाउने हो भने मध्यावधिमा जानुको विकल्प नरहन उनले बताए ।
उनले पार्टीका महामन्त्री गगन थापाले कांग्रेसलाई सरकार बाहिर बस्नु पर्ने दिएको अभिव्यक्ति अपरिपक्वता रहेको बताए । उनले सरकार फेर्ने र मन्त्री फिर्ता बोलाउने काँग्रेसको कुनै योजना नरहेको बताए ।