
खोजवाणी संवाददाता
बर्दिबास, असोज १७
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानूनको शासन पालना गर्दै राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताएका छन् ।
महोत्तरीको बर्दिबासमा बुधबार भएको मधेश प्रदेशको समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षाका लागि कानुनी शासन एवम् राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताएका हुन् ।
धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्न र चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम महँगी रोक्न समेत उनले निर्देशन दिए ।
आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्री श्रेष्ठले जनताले सुशासन तथा गुणात्मक आर्थिक समृद्धि चाहेकोले सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउन, शान्ति सुरक्षा चुस्त बनाउन, भ्रष्टाचारी एवम् अपराधीलाई कानुनको दायरामा ल्याउन तथा दण्डहीनताको अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिए ।
उनले सबै किसिमका विभेदको अन्त्य, जोखिम न्युनिकरण, प्रकोप पीडितको प्रभावकारी उद्दार एवम् राहत, लागुऔषधको नियन्त्रण जस्ता प्राथमिकतामा अझै चुस्त र प्रभावकारी काम गर्न समेत गृहमन्त्री श्रेष्ठले निर्देशन दिए। उनले मुद्दा मिलाउने भन्दै मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो आफुलाई प्राप्त भएकोले त्यस्तो प्रवृत्ति क्षम्य हुन नसक्ने बताए ।
यसका साथै प्रहरीमा महिला सेल भएजस्तै दलित सेल समेत स्थापना गर्न निर्देशन दिइसकिएको उनले बताए। ध्यान तथा योगाले सेवामा समर्पणभाव पैदा गर्ने भएकोले त्यसलाई स्वजागरणका रूपमा आत्मसात गर्न समेत उनले आग्रह गरे ।
आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपयबाट वाधाव्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या राखेका थिए ।
भारतमा चुनाव नजिकिएसँगै सीमावर्ती क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनीहरुको भनाइ थियो । प्रशासन र सुरक्षा संयन्त्रले सबै किसिमका गैरकानुनी गतिविधिलाई प्रत्यक्ष तथा सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई तन्दुरुस्त राखिएको समेत उनीहरुले बताए ।