खोजवाणी संवाददाता
जनकपुर, असोज १८

भड्काउ अभिव्यक्ति दिएको भन्दै सुनसरीमा प्रहरीले धर्मगुरु निवासाचार्य महाराजलाई पक्राउ गरेपछि साधुसन्तहरु आन्दोलित भएका छन् ।

आज दिउँसो रामानन्दिय बैष्णव संघले धर्मगुरु श्रीनिवासलाई रिहाई गर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन गर्ने भएका हुन् । आज दिउँसा ३ बजे रंगभुमी मैदान स्थित तुलसी स्मारकबाट निकालिने तयारी रहेको जनाइएको छ ।

रामानन्दिय बैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले सनातन धर्मगुरु निवासाचार्यलाई रिहाई नगरिएको भन्दै जनकपुरधाममा र्याली निकालेर विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले श्रीनिवासले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिँदै बोल्ने क्रममा खुकुरी मात्र देखाएपनि कसैको नामसमेत उच्चारण नगरेको र हत्यासमेत नगरेकाले तत्काल रिहा गर्न माग गरेका छन् ।

असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले जनकपुरधाममा निकालेको विरोध र्याली कार्यक्रममा बोल्ने क्रममा धर्मगुरु श्रीनिवासले हातमा खुकुरी देखाउँदै गौहत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । सोही टिप्पणीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरीमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

धर्मगुरु श्रीनिवासाआचार्यलाई जनकपुरधाम स्थित जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर थुनामै राखेर म्याद थप गरी सोधपुछ गरिरहेका छन् । भने यता आज साधुसन्तसहित हिन्दु धर्मावलम्बीहरु एनको पक्षमा प्रदर्शन गर्दै प्रहरी प्रशासनलाई तत्काल छाड्न दवाव दिने भएका छन् ।