खोजवाणी संवाददाता
जनकपुर, असोज १८

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा संगठन विस्तार अभियान चलाउने भएको छ ।

जसपा मधेस प्रदेश कार्यकारिणी समितिको मंगलबार बसेको बैठकबाट संगठन विस्तार तथा अभिमुखिकरण कार्यक्रमको कार्यतालिका बनाएको छ ।

जसपा मधेश प्रदेश समितिले बनाएको कार्यतालिका अनुसार सप्तरी जिल्लामा असोज २१ र २२ गते अभिमुखीकरण कार्यक्रम तय गरिएको छ । यस कार्यक्रमको संयोजनका लागि जसपा प्रदेश उपाध्यक्ष अरुण कुमार देव र कोषाध्यक्ष रेणुकुमारी यादवलाई जिम्मेवारी दिइएको छ । त्यस्तै असोज २१ र २२ गते हुने सिरहा जिल्लाको अभिमुखिकरण कार्यक्रमको संयोजनका लागि प्रदेश सचिवद्वय शैलेश कुमार साह र निर्मला कुमारी यादवलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै धनुषा जिल्लामा असोज २४ र २५ गते अभिमुखिकरण कार्यक्रम गर्नका लागि संयोजनको जिम्मेवारी प्रदेश उपाध्यक्ष रामसेवक यादवलाई दिइएको जनाइएको छ ।

त्यस्तै महोत्तरी जिल्ला र रौतहट जिल्लाको अभिमुखिकरण कार्यक्रम असोज २३ र २४ गते हुने कार्यक्रमको संयोजनका लागि महोत्तरीमा प्रदेश उपाध्यक्ष निरा कुमारी साह र रौतहटमा उपाध्यक्ष ज्ञानेन्द्र कुमार यादवलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै सर्लाही जिल्लाको कार्यक्रम असोज २५ गते हुने कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी प्रदेश सचिव पुनित रामले पाएका छन् ।

त्यसैगरी बारा जिल्लामा असोज २२ र २३ गते गरिने कार्यक्रमको संयोजन प्रदेश उपाध्यक्ष बृजमोहन तिवारीले गर्ने छन् भने पर्सामा असोज २५ र २६ गते अभिमुखिकरण कार्यक्रमको संयोजनको जिम्मेवारी प्रदेश उपाध्यक्ष सुशिल कुमार यादवलाई तोकिएको जसपा मधेश प्रदेश समितिले जनाएको छ ।

यस साथै यस बैठकबाट पर्सा जिल्लाको असोज १० गते गरेको पार्टी पुनर्गठन विधान विपरित भएको ठहरसमेत गरेको छ । जसपा पर्सामा देखिएको समस्या समाधानका लागि प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, प्रदेश उपाध्यक्षद्वय रामपृत पासवान र सुशिल कुमार यादव, मुख्य सचिव दिनेश कुमार यादव र सचिव युसुफ अली रहेको कार्यदल गठन गरिएको जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले जानकारी दिए ।

यस बैठकले दोहोरो जिम्मेवारीमा रहेका प्रदेश पदाधिकारी तथा सदस्यहरुसँग समन्वय गरी एक पद वा एक जिम्मेवारी दिने निर्णय समेत गरेको उनले बताए ।