खोजवाणी संवाददाता
जनकपुर, असोज १८
धर्मगुरु श्रीनिवासाचार्य महाराजलाई धनुषा प्रहरीले रिहा गरेको छ ।
सुनसरीमा पक्राउ परेका धर्मगुरु निवासाचार्यलाई बुधबार जनकपुरधाम स्थित जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर बिहीबार धनुषा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी तीन दिनसम्म थुनामा राख्न आदेश दिएको घन्टौँ नवित्दै उनलाई रिहा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा बयान लिएपछि उनलाई बिहीबार साँझमा कानूनी प्रक्रिया पुरा गराएर रिहा गरिएको छ ।
उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय रुपैयाँ जरिवाना लिँदै उत्तेजक अभिव्यक्ति नदिने सर्तमा रिहा गरेको हो ।
रिहा भएपछि रामानन्दिय बैष्णव संघले धर्मगुरु श्रीनिवासलाई भव्य स्वागतसमेत गरेका छन् ।
रामानन्दिय बैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले सनातन धर्मगुरु निवासाचार्यलाई रिहाई नगरिएको भन्दै आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए ।
जनकपररधाम स्थित धार्मिक र्यालीमा धर्मगुरु श्रीनिवासले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिँदै बोल्ने क्रममा खुकुरी देखाउँदै हत्या गर्ने चेतावनी दिएका थिए ।
असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले जनकपुरधाममा निकालेको विरोध र्याली कार्यक्रममा बोल्ने क्रममा धर्मगुरु श्रीनिवासले हातमा खुकुरी देखाउँदै गौहत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । सोही टिप्पणीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरीमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनको समर्थनमा आज दिनभर साधुसन्तहरुले जनकपुरधाममा नारावाजीसहित प्रदर्शनसमेत गरे ।