मधेश प्रदेशमा एक मन्त्रालय थपिँदै
खोजवाणी संवाददाता
जनकपुर, असोज १९

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारीविहीन रहेकी विना विभागीय मन्त्री सुरिताकुमारी साहलाई मन्त्रालय फुटाएर भएपनि विभागीय मन्त्री बनाइएको छ ।

महोत्तरीबाट स्वतन्त्ररुपमा प्रदेश सांसद निर्वाचित भएकी नेतृ साह शःसर्तसहित जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी थिइन् । जसपा प्रवेश गरेलगत्तै सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएको केही महिना नवित्दै उनलाई विनाविभागीय मन्त्री बनाएर मन्त्रीपरिषद्को कार्यालयमा थन्काइएको थियो । यस कार्यबाट उनी पार्टी र मुख्यमन्त्री सरोजकुमार यादवप्रति निकै असन्तुष्ट थिइन् ।

उनले विभागीय मन्त्री बनाउनका लागि पटक पटक दवाव दिँदै आएपछि विना विभागीय मन्त्री साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई मन्त्री बनाउनका लागि शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्र्याइएको छ ।

बुधबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकबाट उनलाई जिम्मेवारी तोकेको मधेश प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जनाएका छन् । मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरिएपनि अधिकारीकरुपमा जिम्मेवारी पाउन अझै केही समय कुर्नुपर्ने भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रा काम विशेषले प्रदेश बाहिर अर्थात विराटनगर रहेकाले टिप्पणीलगायतका कार्यालयका आन्तरिक कार्यवाही प्रक्रिया अघि बढाउन सकिएको छैन । उनले आज वा भोलिसम्म प्रदेश प्रमुख आए लगत्तै विज्ञप्ति निकालेर अधिकारीक रूपमा सार्वजनिक गर्दै पदभारसमेत ग्रहण गराइने बताए ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्र्याएर महिला तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि हेरफेर भएको छ । जनमत पार्टीबाट मन्त्री रहेका महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनमत पार्टीका संसदीय दलका नेता समेत रहेका मन्त्री यादवले भने मुख्यमन्त्री सरोजकुमार यादवले आफुखुसी मनलाग्दी कामकारवाही गरेको प्रति आपत्ति जनाउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्राले शनिबार मन्त्रालय फोड्ने सिफारिस प्रमाणीकरण गरेपछि मधेश प्रदेशमा मन्त्रालयको विस्तारसँगै १३ वटा मन्त्रालय हुनेछ ।