खोजवाणी संवाददाता
जनकपुर, असोज २४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब हुने ०८४ को निर्वाचनपछि एमालेले मधेशमा एमालेको सरकार रहने दावी गरेका छन् ।
बुधबार जनकपुरधाममा नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटनको क्रममा उनले काँग्रेस, माओवादीलगायतका दलहरु एमालेको लोकप्रियताबाट डराएको बताए ।
पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मुलुकमा एमालेले चाहेमा जुनसुकै बेला सरकार बनाउन सक्ने भन्दै उनले मधेशको विकासको लागि एमाले नै आवश्यकता रहेको बताए ।
उनले एमालेलाई जनताले भोट नदिएमा कुनै पनि हालतमा मधेशको विकास नहुने दावी गरे । उनले एमालेको मिसन ०८४ मा बहुमतको सरकार रहेको बताए ।
अध्यक्ष ओलीले विगतलाई स्मरण गर्दै मधेशमा एमालेलाई निषेध गरेको समेत सम्झे । उनले ०७४ सालमा आफूहरुलाई निषेध गरेको बिर्सन नसकेको बताउँदै उनले आफ्नो पार्टी मधेशमा पहिलो पार्टी बन्ने दावी गर्दै उनले हो हल्लावाजी र षड्यन्त्रकारीहरुले नेतृत्व गरेकै कारणले मधेशको विकास हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।
उनले घुमाउरामा पारामा मधेश सरकारको अगुवाई गरेका जसपालाई होहल्ला तथा षड्यन्त्रकारीको संज्ञा दिए ।
त्यस्तै एमाले महासचिव शंकर पोखरेलले मधेश प्रदेश सरकार भ्रष्टाचारमा अग्रस्थानमा रहेको आरोप लगाए । उनले अहिले सात वटै प्रदेशमा सबैभन्दा बढी असक्षम सरकार भनेको मधेश प्रदेशको सरकार रहेको जिकिर गरे ।
त्यसैगरी एमालेका सचिव समेत रहेका मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेशवादी दलहरुको सत्तालिप्साका कारण मधेशमा विकासले गति लिन नसकेको बताए ।
उनले एमाले सधैँ मधेशको हक अधिकार र मधेशी जनताको समेत पार्टी रहेको बताए ।
एमालेका सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्यहरु लीलानाथ श्रेष्ठ, जुलीकुमारी महतोलगायतले मधेश र मधेशी जनतालाई मधेश केन्द्रीत दलहरुले ठगेको आरोप लगाएका छन् ।
एमालेले मधेश प्रदेशमा गरिरहेको अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी गर्ने छन् । यसका लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट गरी एक हजार २७ जना प्रतिनिधि छनोट गरिएको एमाले मधेश प्रदेश कमिटीले जनाएको छ ।
एमालेले यस प्रदेशमा सहमतीय प्रक्रियाबाटै नेतृत्व छनोट तथा चयन गर्ने प्रयासमा रहेको जनाउँदै यदी सर्वसम्मत चयन नभएमा निर्वाचन विधिबाट नेतृत्व छनोट गर्ने एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज भट्टराईले जानकारी दिए ।






