सामाजिक इज्जत जोगाउन पीडित परिवारजनलाई पक्राउ

मिथुन साह
जनकपुर, असोज २७

छोरीको हत्यारालाई कारवाहीको माग तथा धनुषाका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकले दुव्र्यवहार गरेको भन्दै काठमाडौँ स्थित माइतीघरमा आन्दोलित रहेका आरती साहका परिवारजनलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा प्रहरी अधिकारीहरुको तस्विर अंकित फ्लैक्स ब्यानर हटाउँदा अनसनकारीले अवरोध गर्दा प्रहरीले बलप्रयोग गर्नुपरेको भन्दै उनीहरुलाई पक्राउ गरेको जनाएको हो ।

आरतीको हत्यारालाई कारबाहीको माग गर्दै साह परिवार १ सय २१ दिनदेखि माइतीघरमा अनसनमा बस्दै आएका थिए । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले आरतीका बुबा विनोद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई पक्राउ गरेको जनाएका छन् ।

उनले तीनै जनालाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको जनाए ।

छोरीको लागि न्याय माग्दै आन्दोलन रहेका उनीहरुलाई धनुषा प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमलाई कारबाहीको माग गर्दै तस्बिर समेत प्रदर्शन गर्दै आएका थिए ।

प्रहरी उपरीक्षक खड्का र प्रहरी नायब उपरीक्षक गौतमले आफूहरुको तस्बिर राखेर सामाजिक बेइज्जती भइरहेको भन्दै हटाउनका लागि गृह मन्त्रायमा निवेदन नै दिए । सो तस्विर अंकित फ्लैक्स हटाउनका लागि प्रहरीले बल प्रयोग गर्दै पीडित परिवारजनलाई पक्राउ गरेको छ ।
धनुषाका प्रहरी उपरीक्षक खड्का र प्रहरी नायब उपरीक्षक गौतमले निवेदन दिएपछि गृह मन्त्रालयले प्रहरी परिचालन गरी तस्विर अंकित ब्यानरलगायतका सामग्रीहरु हटाउन प्रहरीले परिचालन गरिएको थियो । सोही क्रममा पीडितहरुले तस्विर अंकित ब्यानर हटाउन नदिएपछि प्रहरीले बल प्रयोग गरेर हटाउँदै अनसनकारी पीडितहरुलाई पक्राउ गरेको हो ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ८ की आरती साहको गत जेठ ७ गते श्रीमानसहितका परिवारजनले हत्या गरेको आरोप छ । छोरी आरतीको हत्या भएको थियो । मृतक आरती साहका परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीका श्रीमान मोतीबाबु, ससुरा मदनमोहन, सासू रेणु देवी र देवर रवि साहविरूद्ध जाहेरी दिएपनि प्रहरीले दर्ता गर्न आनाकानी गरेका थिए ।

पीडित परिवारले धनुषाका प्रहरी उपरीक्षक खड्का र धनुषाका प्रहरी नायब उपरीक्षक गौतमले जाहेरी लिन नमानेपछि उनीहरु प्रहरी विरुद्धपनि आन्दोलन गर्दै आएका थिए । यसैक्रममा जिल्ला प्रहरी कार्यालयमा प्रहरीले आरतीका परिवारजनमाथि प्रहरीले बलप्रयोग गरी कुटपीटसमेत गरेको आरोप लगाए । पीडित परिवारजनले धनुषा प्रहरीले आरती हत्या प्रकरणको मुद्दा दबाउन पीडकसँग घुस लिएको हुनाले मुद्दा दर्ता नगरेको आरोप लगाउँदै जनकपुरधामदेखि काठमाडौँसम्म आन्दोलन गर्दै धर्ना दिँदै अनसनसम्म बस्दै आएका थिए ।

May be an image of text

माइतघरमा १२१ दिनदेखि धर्नामा बस्दै आएका आरती साहका परिवारजनले न्याय नपाएपनि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक खड्का र तत्कालिन प्रहरी नायब उपरीक्षक गौतममाथि भने प्रश्न तेर्सिएको छ ।

यता पीडितहरुको दबाबपछि धनुषा प्रहरीले मृतक आरतीका श्रीमान र ससुराविरुद्ध आत्महत्या दुरूत्साहन र कर्तव्य ज्यानको कसुरमा उजुरी दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

धनुषा जिल्ला अदालतलाले आरतीका श्रीमान र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाएका थिए भने यता उच्च अदालत जनकपुरले उनीहरुलाई साधारण तारेखमा रिहा गरेको छ ।