खोजवाणी संवाददाता
जनकपुर, असोज २८

आजदेखि बडादसै सुरु भएको छ । नवरात्रको पहिलो दिन रहेको आइतबार घर–घरमा घटस्थापना गरिन्छ । भने आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना हुनु उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आजको दिनमा चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने परम्परा रहेको छ । आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिने गरिन्छ । पूजा कोठामा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरी पूजा कोठामा विधिपूर्पक राखेर त्यसमाथि जौँ रोपेर जमरा राख्ने गरिन्छ । यव अङ्कुर दुर्गा देवीको वस्तु भएकाले जौँ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिनमा टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइने गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिने परम्परा रहेको छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियममा उल्लेख रहेको छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउने गरिन्छ ।

वडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । भने आगामी कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको जनाइएको छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने परम्परा रहेको छ । यस अवसरमा देवी शक्तिपीठमा निकै भिड लाग्ने गर्छ ।