खोजवाणी संवाददाता
जनकपुर, असोज २८
बडादसैँँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सात दिनसम्मका लागि सस्ता बजार सुरु भएको छ ।
जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा सस्तो बजारको उद्घाटन मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले गरेका छन् ।
उनले आर्थिक मन्दीको क्रममा भइरहेको व्यवसायी तथा व्यापारीलाई प्रोत्साहन स्वरुप योजना ल्याउने बताए ।
अर्थमन्त्री यादवले ठुलठुला कलकारखाना तथा उद्योगहरु खोल्नका लागि समेत मधेश प्रदेश सरकारले योजना ल्याएको बताउँदै छिट्टै नै मधेश प्रदेशमा कार्ययोजनासहित अघि बढ्ने बताए ।
यस सस्तो बजारमा भित्र तथा बाहिर गरेर १ सय १५ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले सस्तो बजारको रुपमा परिचित रहेको जनकपुरधामको दसैं मेलाबाट सर्वशुलभरुपमा यहाँका स्थानीय उपभोक्ताहरुले गुणस्तरीय सर्वशुलभ तथा सस्तोमा सुपथ विभिन्न सामग्रीहरु किनमेल गर्ने अपेक्षा रहेको बताए ।
उनले घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीहरुलाई प्राथमिकता दिई विक्रि वितरण गर्ने योजना रहेको बताए ।
यस बजारमा खाद्यान्न, दैनिक उपभोग्यका सामाग्रीहरु, साबुन, सर्फ, अगरबत्ति, प्लाष्टिकका भाडाकुडाहरु, लत्ता कपडाहरु, जुत्ताचप्पललगायत अन्य किसिमका उपभोग्य सामाग्रीहरु व्यापार व्यसायका लागि राखिएको छ ।
सस्तो बजारमा घरेलु उत्पादन सामग्रीलाई बढी महत्व दिइएको छ । उनले घरेलु सामग्रीको विक्रि वितरण भएमा उत्पादन बढ्नुका साथै उपोक्ताका लागि सस्तो तथा सर्वसुलभ समेत हुने उनको भनाइ थियो ।