खोजवाणी संवाददाता
जनकपुर, असोज २८

नेकपा एमाले मधेस प्रदेश प्रथम अधिबेशनबाट निर्वाचित मधेस प्रदेशका पदाधिकारीको पहिलो बैठकले बाँकी रहेको जिल्लामा तत्काल जिल्ला अधिवेशन गर्न निर्देशन दिएका छन् ।

एमाले मधेश प्रदेशका पादाधिकारीहरुले गोपनियताको सपथग्रहण लिएपछि आइतबार बसेको पहिलो बैठकबाट महोत्तरी, रौतहट र पर्सा जिल्लामा जिल्ला अधिवेशन मंसिर १५ गतेसम्ममा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

यसअघि तय गरिएको जिल्ला अधिवेशनहरु महोत्तरीको जिल्ला अधिवेशन मंसिर ७ र ८ गते, रौतहटको जिल्ला अधिवेशन ९ र १० गते र पर्साको जिल्ला अधिवेशन ११ र १२ गते सम्पन्न गर्नका लागि तयारीमा जुट्न जिल्ला कमिटीलाई प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले निर्देशन दिने निर्णय गरिएको बताए ।

यस बैठकबाट प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डल सहित उपाध्यक्ष विचारी प्रसाद यादव सचिव मनोज पौडेल, उपसचिवहरु आरती भण्डारि र मोहमद कैस रहेको कार्यालय गठन गरेको उनले बताए ।

एमाले मधेश प्रदेश कमिटीले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा मधेश प्रदेशका सबै पालिका कमिटिहरुले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

नव निर्वाचित प्रदेश कमिटिका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम विजया दशमी लगत्तै गर्ने निर्णय गरेको छ ।

एमाले पार्टीका तत्कालिन सचिव डा. कृष्ण पौडेलको निधनले पार्टीलाई अपुरणिय क्षति भएको निष्कर्श निकाल्दै उनी प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्नुका साथै शोकलाई शक्तिमा बद्लेर अघि बढ्न पार्टी पंक्तिमा अनुरोध गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना ब्यक्त गरेको छ ।

पहिलो पटक बसेको बैठकमा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, केन्द्रीय कमिटी सचिव रघुबिर महासेठलगायत पोलिटब्युरो, केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरुको विशेष उपस्थित रहेको थियो ।