खोजवाणी संवाददाता
जनकपुर, असोज २९

बडादसैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता ब्रह्मचारिणीको पूजाअर्चना हुँदैछ । ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गरिँदै आएको छ ।

नवरात्रका पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिने छ । यो नौ दिनसम्म चल्ने छ ।

ब्रह्मचारिणीदेवीको पूजाअर्चना तथा आराधनाले व्यक्तिलाई ब्रह्म आचरण गर्ने शक्ति प्राप्त मिल्ने छ भने यसले ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने धार्मिक शास्त्रहरूमा उल्लेख छ । सांसारिक मायामोहको जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव रुपीलाई सार्थक बनाउन साधकलाई ब्रह्मचारिणीदेवीको अनुकम्पा आवश्यक हुने उल्लेख छ ।

ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीकसमेत मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाह पूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ भने पार्वतीको यस रुपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख छ । शास्त्रका अनुसार ब्रह्मचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ ।

देवीका महाकाली, महालक्ष्मी र महासरस्वतीको गरी तीन रुप रहेको छ । यसको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य तथा ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाअर्चना तथा आराधना परम्परागतरुपमा हुँदै आएको छ ।