खोजवाणी संवाददाता
जनकपुर, असोज २९
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवाप्रवाहबारे जानकारी लिएका छन् ।
प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो लिँदै मुख्यमन्त्री यादव सेवाग्राहीसित सेवाप्रवाहबारे जानकारी लिएका हुन् ।
एउटामात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गरेको गुनासो प्रति गम्भीर हुँदै मुख्यमन्त्री यादवले काउण्टर सम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिए ।
सेवाप्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितोका लागि मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई निर्देशन दिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याब सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
प्रदेश सरकारको लगानीमा संचालित यस प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्दै आएको छ ।
