खोजवाणी संवाददाता
जनकपुर, असोज २९

प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेश प्रदेशसभाको बैठक सुरु हुनु वित्तिकै मुख्यमन्त्रीको कार्यशैलीको विरोध गरेपछि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेको सांसदको विरोधपछि सभामुख रामचन्द्र मण्डलले दश मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जनाएको छ ।

विकास निर्माणको काममा उपभोक्ता समिति गठन गर्दा निर्वाचित जनप्रतिनिधिको रोहबरमा हुने सहमति कार्यन्वयन नभएको भन्दै एमालेका प्रदेशसभा सदस्यहरुले विरोध जनाएको थियो ।

सरकारबाट विनियोजित बजेट सञ्चालन गर्न बनाइएको कार्यविधि मुख्यमन्त्री सरोजकुमार यादवले आफ्ना दलका नेताहरुसँग गरेको सहमति नमानेको भन्दै एमालेका संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरको नेतृत्वमा एमालेका प्रदेशसभा सदस्यहरुले विरोध गरेको थियो ।

संसदीय दलका उपनेता ठाकुरले सहमति भएको महिनाँै बितिसक्दापनि मुख्यमन्त्रीले वास्ता नगरेको भन्दै बैठक अवरुद्ध गर्नु परेको बताए ।

एमालेका प्रदेशसभा सदस्यहरुले जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले यस विषयमा तत्काल जानकारी गराउनका लागि दस मिनेटसम्म बैठक स्थगित गरिएपनि अहिलेसम्म पनि सुरु भएको छैन ।