
खोजवाणी संवाददाता
जनकपुर, असोज ३०
मधेश प्रदेश सरकारले व्यापकरुपमा आर्थिक अनियमितता गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार बसेको प्रदेशसभा बैठक सुरु भएलगत्तै प्रदेश सरकारसँग जवाफ माग्दै अवरोध सृजना गरे ।
सभामुख रामचन्द्र मण्डलले एमालेका प्रदेशसभा सदस्यलाई बैठक अवरोध नगरी सहज ढंगले संचालन हुन दिन र सरकारलाई जवाफ दिन रुलिंग गरेपनि अन्तिममा मधेश सरकारबाट जवाफ आउन नदेखिएपछि सोमबार साँझ प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
करिब दुई महिना दुई साता अर्थात अढाई महिनापछि सुरु भएको बैठक दोश्रो पटक बस्दै पुनः अनिश्चितताको घेरामा घेरिएको छ ।
एमालेका संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले दलका नेताहरुसँग मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सदस्य सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गर्ने र बजेट विनियोजन गर्ने भनेर गरेको सहमतीको पालना नभएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले सरकारबाट जवाफ नआएपछि सदन चल्न नदिने अडान लिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित नै गरे ।
सभामुख मण्डलले सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेका प्रदेशसभा सदस्यहरुलाई राखेर छलफलसमेत गराए । मुख्यमन्त्री पनि छलफलमा सहभागी थिए । तर करिब २ घण्टासम्म छलफल चल्दा पनि सहमती नजुटेपछि सूचना टाँसेर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
एमाले संसदीय दलका उपनेता ठाकुरले मुख्यमन्त्री र मन्त्रीहरु कमिशनको चक्करमा लागेका कारण सहमति कार्यान्वयणमा सरकारलाई कठिनाई भइरहेको आरोप लगाए ।