
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १
नेपाल–भारतको सिमावर्ती क्षेत्रका स्थानीय जनप्रतिनिधिले सिमानाकाको व्यवस्थापनमा जोड दिएका छन् ।
सशस्त्र प्रहरीका अधिकारीहरु बीचमा भएको छलफलको क्रममा उनीहरुले नेपाल–भारत सीमानाकाको वैज्ञानिक व्यवस्थापन तर्फ गम्भीरतापूर्वक लाग्नुपर्ने सुझाएका हुन् ।
बुधबार महोत्तरीको बर्दिबास स्थित छिन्नमस्ता बाहिनीमा “सीमावासीसँग सशस्त्र प्रहरी” भएको छलफल कार्यक्रममा नेपाल–भारत तर्फका सिमानाका तर्फका क्षेत्रमा कुनैपनि किसिमको असर नपर्ने गरी वैज्ञानिकढंगको व्यवस्थापनका लागि सिमावर्ती क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको आवाज थियो ।
नेपाल–भारतको सिमानाकासँग जोडिएका विभिन्न स्थानीय तहका वडाध्यक्षहरूसँग सशस्त्र प्रहरी बलले छलफल गरेका थिए ।
नेपाल–भारतको बीचमा विशिष्ट सांस्कृतिक सम्बन्ध रहनुका साथै दुवै देशका नागरिकहरुका बीचमा पारिवारिक सम्बन्धसमेत रहेकोले यस प्रदेशको विशिष्टता अनुसार नै सीमानाकाको व्यवहारिक सम्बन्धलाई समेत ख्याल गर्दै व्यवस्थापन गर्नका लागि जनप्रतिनिधिहरुले माग गरेका हुन् ।
वडाअध्यक्षहरुले सीमानाका पूर्ण रुपमा खुल्ला भएकाले सशस्त्र प्रहरीलाई सीमानाकाको व्यवस्थापन, अपराध नियन्त्रण, तस्करी, मानव बेचबिखन, लागु औषधको कारोबार नियन्त्रण जस्ता विषयहरू चुनौतीपूर्ण बनिरहेको वेलामा सशस्त्र प्रहरीले आयोजना गरेको कार्यक्रम निक्कै उपयोगी भएको सप्तरी जिल्लाको तिलाठी कोईलाढी गाउँपालिकाको वडा नम्बर १ का वडाअध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिए ।
वडाअध्यक्षहरुले सीमानाकामा रहेका वडाबाट निर्वाचित भएका वडाध्यक्षहरूले सीमावर्ती क्षेत्रमा हुने गरेको लागु औषधको कारोबार, सेवन, तस्करी, शान्तिसुरक्षा, विकास निर्माणको कार्यमा व्यवधान, सीमाना अतिक्रमण, घरेलु कामका लागि ल्याउने दैनिक उपभोग्यका सामाग्रीमा रोक, सिमानामा आवत जावत गर्दा हुने गरेको समस्या, प्राकृतिक सम्पदाको उत्खनन् तथा संरक्षणलगायतका विषयमा ध्यानाकर्षण गरे ।
सशस्त्र प्रहरीका छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले मधेश प्रदेशका जनताहरूको सीमावर्ती भारतीय क्षेत्रका जनताहरूसँगको सांस्कृतिक सम्बन्धको विशिष्टतालाई ख्याल गर्दै सीमानाकाको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको बताए ।
यस कार्यक्रममा मधेश प्रदेशका सिमानाकासँग जोडिएका १४३ वडा अध्यहरुको सहभागीता रहेको थियो ।