खोजवाणी संवाददाता
राजविराज, कार्तिक १

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास निर्माणको काम अघि बढाउनका लागि स्थानीयहरुले रिले अनशन गर्दै आएका छन् ।

बुधबार सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १० विरौलस्थित प्रतिष्ठानको विकास निर्माणको कार्य अलपत्र पार्दै अन्य कामसमेत रोकिँदा प्रभावित भएको भन्दै अविलम्ब काम सञ्चालन गर्नुपर्ने मागसहित निर्माणस्थलमा अनिश्चितकालीन रिले अनशन गर्दै आएका हुन् ।

उनीहरु पाँच दिनदेखि प्रतिष्ठानको निर्माणस्थलमा विभिन्न पाँच सूत्रीय माग राख्दै सुरु गरिएको अनशन गर्दै आएका छन् ।

स्थानीय रामकुमार दासको अगुवाईमा अनशन बसेका छन् ।

प्रतिष्ठान निर्माणका लागि ६२ बिघा जग्गा अलपत्र अवस्थामा पारेको भन्दै तत्काल विकास निर्माणको काम सञ्चालन गर्नुपर्ने मागसहित अनशन जारी राखिएको अनसनका अगुवा दासले बताए ।

शिलान्यास भएको दुईवर्ष पाँच महिना वितिसक्दा पनि निर्माण अलपत्र परेको भन्दै प्रतिष्ठान निर्माण यथाशीघ्र बढाउनुपर्ने, पूर्वाधार तयारी विकास समितिमा रिक्त पदमा पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै रिले अनशन जारी राखेको छ ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि शिलान्यास भएको दुई वर्षसम्म निर्माण सुरु नगर्दा स्थानीयवासी भने आक्रोशित छन् ।

पूर्वाधार तयारी विकास समितिका लागि आर्थिक वर्ष २०७५–७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएकामा तीन करोड १६ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको जनाइएको छ ।

यस प्रतिष्ठान निर्माण सुरु गर्नुपर्ने मागसहित जारी रिले अनशनलाई आज सप्तरी युथ नेपालले समेत ऐक्यवद्धता जनाएको छ ।

यता जनमत पार्टीले पनि यस अनसन प्रति ऐक्यवद्धता जनाएको छ ।