
खोजवाणी संवाददाता
राजविराज, कार्तिक १
नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले लामो त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई जोगाउनु सबैको दायित्व रहेको बताएका छन् ।
बुधबार राजविराजमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले यस्तो बताएका हुन् ।
उनले गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिहरुकै कारण देश जागृत भएको भन्दै पुर्वराष्ट्रपति डा. यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनु पर्ने बताए ।
पुर्वराष्ट्रपति डा. यादवले भने, ‘संघीयता र गणतन्त्र हातबाट जान दिनु हुँदैन,’ उनले भने, ’गल्तीहरु सुधार गरी अझ मजबुत बनाउनु पर्छ । धेरै सकारात्मक कार्यहरू भएका छन् र धेरै सकारात्मक कार्य गर्न बाँकी छन् ।’
उनले विगतमा मधेस स्वर्ग रहेको चर्चा गर्दै उनले चुरे र चुरे तलको जंगलको विनासका कारण मधेसको भूमि मरुभूमिमा परिणत हुने अवस्था सिर्जना भएको बताए ।
यस कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले मधेसको इतिहास नयाँ शिराबाट लेखिनुपर्ने बताए ।
यस कार्यक्रममा वयोवृद्ध राजनीतिज्ञ खुशीलाल मण्डललाई सप्तरी–सिरहा नागरिक समाजद्वारा पूर्वराष्ट्रपति डा. यादव मार्फत उनलाई नागरिक सम्मान गरेको छ ।
यस अवसरमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, प्रतिनिधिसभा सदस्यहरु दिनेशकुमार यादव र नवलकिशोर साह, राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह, प्रदेशसभा सदस्यहरु जितेन्द्र सोनल र ललिता दास, पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयोजक संस्थाका रामरिझन यादवलगायतले अभिनन्दित खुशीलाल मण्डलबारे चर्चा गरेका थिए ।