खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २

बडादसैँको अवसरमा नौ दिनसम्म दुर्गा माताको विभिन्न रुपको पुजाआजा हुन्छ । त्यसमध्ये नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीको दिन दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । भने सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

त्यस्तै दोस्रो दिन बिहीबार दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । त्यसैगरी तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । भने चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

आज पाँचौँ दिनमा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ पनि गर्ने धार्मिक परम्परा रहेको छ । यस अवसरमा दुर्गा माताको आराधना गरी पूजाअर्चना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पुजाआजा तथा आराधना गरिन्छ ।

नौ दिनसम्म पूजाअर्चना तथा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने गरिन्छ ।

बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजाआजा तथा आराधना गर्ने गरिन्छ ।