खोजवाणी संवाददाता
राजविराज, कार्तिक २
सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबारको रातिसम्म कार्यालयमै घेरिए ।
यसै विषयलाई लिएर स्थलगत रिपोर्टिङ गर्न पुगेका रेडियो नेपालका पत्रकार सञ्जीव विक्रम शाह माथि जनमत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले हातपात गरेका छन् ।
उनले भने, ‘डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ६ को पोखरी ठेक्का सम्बन्धी विवादमा वडाबासीले बुधबार दिउँसोदेखि नै नगर प्रमुख मलाहलाई नगरपालिका बाहिर निस्कन दिएनन् । तथापि नगरपालिका जम्मा भएका स्थानीयवासीहरुले पालिकाको कार्यालय घेराउ गरेर टायर बाल्दै आन्दोलन सुरु गरेपछि अवस्था तनावपूर्ण बन्यो, सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा तीन दर्जन संख्यामा सुरक्षाकर्मी परिचालन गरिएर नगरपालिकाको वातावरण नियन्त्रणमा रहेको थियो, अबेर रातिसम्म नै स्थानीयवासीले कार्यालय घेरे ।’
नगरपालिका प्रशासन र स्थानीयसँग अबेर रातिसम्म वार्ता चलेको थियो ।
हाम्रो विरुद्ध किन समाचार किन लेखेको भन्दै रिपोर्टिङको क्रममा फिल्डमा रहेका पत्रकारलाई थर्काउँदै जनमत पार्टीका अमरेन्द्र यादव र अनिल यादवले पत्रकार साहमाथि हूलहुज्जत गर्दै हातपातसमेत गरेको डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख राम लखन मलाहले बताए ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत रहेका साहमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ सप्तरी शाखाले भत्र्सना गरेको छ ।
प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै आएका जनमत पार्टीका कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको महासंघले जनाएको छ ।
