खोजवाणी संवाददाता
जनकपुर, कार्तिक ३

बडादसैँको छैटौँ दिन आज नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष झैँ आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रही आएको छ । सोही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिने परम्परा रहेको छ ।

कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिएकी थिइन् । उनको बाल्यसौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेको थियो । त्यसैले यिनको नाम कात्यायनी भएको धार्मिक पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिने धार्मिक परम्परा छ ।

नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । भने सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

त्यस्तै दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । त्यस्तै तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । त्यस्तै चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । त्यस्तै पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो ।

त्यसैगरी आज छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

बडादसैँको अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।