खोजवाणी संवाददाता
राजविराज, कार्तिक ३
सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनताको पुर्ण अधिकार प्राप्ति नभएकाले सङ्घर्ष अझैपनि जारी रहेको नै दावी गरेका छन् ।
आज राजविराजमा लोसपा नेपाल सप्तरीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वमन्त्री समेत रहेका महतोले पहिचान, अधिकारलगायतका एजेण्डाहरु पुर्णरुपेण पुरा नभएकाले मधेशी आन्दोलन अझैपनि जारी रहेको दावी गरेका हुन् ।
उनले गजेन्द्र बाबुले देखेको सपना साकार गर्नका लागि भएपनि उनको अनुसारको पहिचान र अधिकारको लागि आन्दोलन नै गर्नुपर्ने बताए ।
लोसपाका वरिष्ठ नेता महतोले मधेश विद्रोहबाट प्राप्त अधिकारसहितको उपलब्धीलाई बचाउनका लागि अहिले संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुसार जनताको अपेक्षाहरु अझैसम्म पनि पुरा नहुनु दुःखद रहेको टिप्पणी समेत गरे ।
उनले मुलुकमा संघीय शासन व्यवस्थाको अभ्यास भएको सात वर्ष भइसक्दापनि सो अनुरुप जनअपेक्षा पुरा नहुनु दुःखद रहेको बताए ।
उनले पार्टी पुनःगठनमा अध्यक्ष महन्थ ठाकुरले गडबड गरेको आरोप समेत लगाए ।