अनुचितढंगले अनियमितताका लागि कर्मचारीमाथि दवाव
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक ४
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारीहरुले अध्यक्ष शितल साहको मनोमानी विरुद्ध आन्दोलित भएका छन् ।
अध्यक्ष शितल साहले लाखौँ रुपैयाँ अनियमितता गर्न कर्मचारीलाई दवाव दिन थालेको र कर्मचारीको तलब भत्तालगायतकामा बेवास्ता गरी जथाभावी गर्न दवाव दिन खोजेको आरोप लगाउँदै ११ बुँदे कारणहरु सार्वजनिक गर्दै उनलाई कार्यालय प्रवेशमा कर्मचारीहरुले नै रोक लगाएका हुन् ।
अध्यक्ष साहले साउन महिनादेखि बाँकी रहेको तलब, सुविधा दसैँमा समेत उपलब्ध गराउन रोक लगाएपछि आक्रोशित कर्मचारीहरुले कार्यालय प्रवेशमा रोक लगाएका छन् । अध्यक्ष साहले क्वार्टरमा आफन्तजनलाई राखेर गास, वास, सेवा सुविधालगायतका वापत करिब साढे दुई लाख रुपैयाँ उपलब्ध गराउन कर्मचारीलाई दवाव दिन थालेपछि कर्मचारीहरुले अध्यक्षको कार्यकक्ष तथा क्वाटरमा समेत ताला लगाएका छन् ।
यस परिषदमा कार्यरत्त रहेका २२ जना कर्मचारीमध्ये २१ जना कर्मचारीहरु अध्यक्ष साह रवैयाको बिरोधमा उत्रेका छन् । संघीय पर्यटन तथा संस्कृति मन्त्रालयले कर्मचारीहरुलाई तलब दिने निर्णयमा पुगिसकेको बेला अध्यक्ष साहले रोक्न लगाएको आरोप कर्मचारीहरुको छ ।
परिषदका कर्मचारीहरुले ३ महिनादेखि तलवसहितका सेवा सुविधा पाएका छैनन् । दसैं जस्तो चाडपर्वमा समेत तलब नपाएपछि आक्रोशित बनेका कर्मचारीहरुले अध्यक्ष साहको रवैयाको भण्डाफोर गर्दै उनीहरुले तालाबन्दी गरेका छन् ।
कर्मचारीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा अध्यक्ष शितल साह पूर्वेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व पदाधिकारी र कर्मचारीहरुमाथि ३५ वटा मुद्दा दर्ता गराएको जनाएको छ । जनकपुरधाममा घर भएका अध्यक्षले आवाससहितको सुविधा नपाउने नियम रहेतापनि अध्यक्ष साहले भने नियम विपरीत यात्री निवास परिसरमा रहेको पर्यटन सूचना केन्द्रलाई हटाएर आवास बनाएर मासिक ८० हजार रुपैयाँको आर्थिक क्षति बृहत्तरलाई भइरहेको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष साहले गैरकानुनी रुपमा तलव, सुविधा माग गरेको तर त्यो रकम सरकारले उपलब्ध नगराएको कारण कर्मचारीमाथि जाइ लाग्दै कर्मचारीको तलव भत्ता रोक्का गराएको उनीहरुको भनाइ छ ।
जानकी मन्दिरको उत्तर तर्फ तेलहा– मडहा पोखरीको पश्चिम डिलमा राखिएको डिजिटल विज्ञापन बोर्डमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको नाममा विद्युतको मिटर जोडेर अनियमितता गर्दै सोको आम्दानी अध्यक्ष साहले उठाउने गरेको आरोप लगाएका छन् । परिषदले विद्युतको लाइन काट्न प्राधिकरणलाई पत्राचार गरेतापनि विद्युतिय मिटरको लाइन अहिलेसम्म काटिएको छैन । संघीय खानेपानी मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीलाई निजीरुपमा प्रयोग गर्दै आइरहेको जारी गरिएको विज्ञप्तिमा भनिएको छ । अध्यक्ष साहले कार्यालयका २ जना चालकलाई कामविहीन बनाएर बाहिरको चालकबाट भर्ति गरी निजी काममा गाडी प्रयोग गर्ने गरेको र उनको नामबाट पनि अनियमितता गर्ने गरेको जनाइएको छ ।
बृहत्तर जनकपुर क्षेत्र परिसदमा निजी स्तरबाट सञ्चालित होटेलको २ लाख ५० हजार रुपैयाँको निजी खर्चको बिल परिषदबाट भुक्तानीका लागि कर्मचारीहरुमाथि चर्को दबाब दिएको जनाएको छ । परिषदका अध्यक्षमा नियुक्त भएदेखि नै अध्यक्ष साहले यात्री निवासका सञ्चालकसित ६० लाख रुपैयाँ र बृहत्तरका कर्मचारीहरुसित १० लाख रुपैयाँ अनुचित माग गरेको आरोप लगाएका छन् ।
परिषदका कर्मचारीहरुले अध्यक्ष साहमाथि कार्यालय विरुद्ध लागेको भन्दै ११ वटा आरोप लगाउँदै उनलाई बर्खास्त गर्न सरकारसित मागसमेत गरेका छन् । अध्यक्ष साहले कर्मचारीमाथि अनुचित दबाब दिएर आर्थिक हिनामिना गर्न उद्यत रहेको देखिएका छन् । अध्यक्ष साहले अख्तियारमा दिएको उजुरीमा पूर्व अध्यक्षहरुले कर्मचारी समायोजनमा अनियमितता गरेको आरोप छ ।
अध्यक्ष साहले अनियमितताका लागि जथाभावी समस्या उत्पन्न गर्ने र आर्थिक लेनदेनका लागि दबाब दिने गरेकाले कार्यकारी निर्देशक र लेखापाल भाग्ने गरेको कर्मचारीहरुको भनाइ छ ।
कर्मचारीहरुद्वारा लगाइएको ११ बुँदे आरोप यस्तो छ:


