खोजवाणी संवाददाता
काठमाडौँ, कार्तिक ५

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

जसमध्ये नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट, आशिष चौधरी र लोकेन्द्रसिंह धामीको शव आज बिहान इजरायलबाट काठमाडौं आइपुगेको हो ।

न्यौपानेको शव भने गएराति नै काठमाडौँ ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको जनाइएको छ । आज बिहान धामी, चौधरी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै राखिएको छ । यी चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली दूतावासले जनाएअनुसार पहिलो चरणमा चारवटा शव पठाइएको छ भने बाँकी ६ वटा शव पनि पछि पठाइने भएको छ ।
कृषि विषय पढ्न र कमाउनका लागि इजरायल पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । भने विपिन जोशीको अवस्था अझै पनि अज्ञात नै रहेको छ । उनको खोजी कार्य भइरहेको दूतावासले जनाएको छ ।

सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रियासमेत थालेको छ । नेपाल एयरलाइन्सको हवाई जहाज पठाएर पहिलो पटक २७२ जना नेपालीहरुलाई स्वदेश ल्याइएको थियो ।