खोजवाणी संवाददाता
जनकपुर, कार्तिक ८

बडादसैँको समापनसँगै सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउने क्रममा रुट निर्धारण गरिएको विषयमा स्थानीयवासी र प्रहरी बीच झडप भएको छ ।

बुधबार जिल्लाको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

झडपको क्रममा दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपेन्द्र पजियार थारले जनाएका छन् । उनले बताए अनुसार दुई समुदाय बीच हनुसक्ने सम्भावित झडपको अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

मलंगवाको जिविस चोकबाट दुर्गा पूजाको मुर्ति सेलाउनका लागि लैजानलाई स्थानीय प्रशासनले विगतको मूर्ति विसर्जनलाई मध्यनजर गर्दै रुट निर्धारण गरेको थियो ।

तर स्थानीयवासीले विगतकै मुस्लिम वस्तीबाट मूर्ति विसर्जनका लागि रुट नै परिवर्तन गरी लैजान खोजेपछि स्थानीय प्रहरीले रोकेको थियो ।

सोही क्रममा तनाव बढेपछि थप प्रहरी परिचालन गरी स्थानीय प्रशासनले निर्धारण गरिएको रुटबाट लगेर विसर्जन गरिएको छ ।

प्रवक्ता पजियारले सर्लाही जिल्लामा ६५ भन्दा बढी स्थानमा दुर्गा पूजा गरिएपनि अन्य ठाउँमा शान्तपूर्वक रुपमा मूर्ति विर्सजन भएको बताए ।